जलजलाको कालिगण्डकी नदी किनारमा गौमहोत्सव सुरु (भिडियो/तस्विर सहित)

विकल्प न्यूज/बेनी
मंसिर १९ गते ।             उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा विहिवार देखि गौमहोत्सव सुरु भएको छ । वैदिक गाईको संरक्षण गर्न गण्डकी गौपाल गौशालाको आयोजनामा एकहप्ता सञ्चालन गरिने गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सवको सुरु भएको हो ।

गौमहोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुहुँदै जलजलाको धार्मिक पर्यटन प्रवद्र्धन र गाईको संरक्षण गर्न महोत्सवले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कालञ्जर,जलजला र गौशालालाई एकिकृत रुपमा विकास गर्न सकेमा धार्मिक पर्यटन भित्राउन सकिने बताउनुभयो । कार्यक्रम गण्डकी प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीले जलजला क्षेत्र धार्मिक पर्यटनको प्रचुर संभावना भएको क्षेत्र भएकाले यसको प्रचारप्रसार र भौतिक पूर्वाधार निर्माणमा गौमहोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । धार्मिक र स्वास्थ्यका हिसावले पनि गाईको महत्व भएकाले संरक्षण गर्नुपर्ने बताउनुभयो । सभामुख अधिकारीले गौशालामा पूर्वाधार निर्माणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उदघाटन कार्यक्रम हुनुभन्दा अगाडि मिलनचोक,बेनी,बागलुङ र कुस्मामा कलश यात्रा गरिएको थियो । भजनकृतन र बाजागाजा सहित हजारौं भक्तजनहरुको सहभागितामा मिलनचोकमा कलशयात्रा निकालिएको थियो । गौमहोत्सव मुल आयोजक समितिका अध्यक्ष राजु आचार्यको अध्यक्षता,सह अध्यक्ष शेरबहादुर केसीको स्वागत र महासचिव जगन्नाथ आचार्यको सञ्चालनमा सम्पन्न उदघाटन कार्यक्रममा डाक्टर जगन्नाथ रेग्मीले कालञ्जर क्षेत्रको महोत्वका वारेमा प्रकास पार्नुभएको थियो ।

उद्घाटन कार्यक्रमा पर्वत जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेल,जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल, म्याग्दी र पर्वत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु लगायत ठूलो संख्यामा भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो । गौशालालाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्ने लक्ष्य सहित नेपालमै पहिलो पटक गौमहोत्सवको आयोजना गर्न लागिएको महोत्सव मुल आयोजक समितिका महासचिव जगन्नाथ आचार्यले बताउनुभयो ।

गौशालालाई नेपालमै नमुनाका रुपमा स्थापित गर्ने लक्ष्य छ महासचिव आचार्यले भन्नुभयो, ‘वैदिक गाईको संरक्षण गरी धार्मिक पर्यटनको केन्द्र बनाउने हाम्रो उद्देश्य हो ।’

 

गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ । धार्मिक र प्रर्याबरणीय रुपमा समेत गाईको महत्व ठुलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउन र संरक्षणको लागि पहल गर्ने उद्देश्यले गौमहोत्सवको रुपमा महायज्ञ सञ्चालन गर्नुपरेको अध्यक्ष आचार्यले बताउनुभयो ।

स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा िव.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् ।

गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिब आचार्यले जानकारी दिनुभयो । महायज्ञ एवम् गौमहोत्सवबाट बचत हुने रकमलाई पूर्वाधार विकाससंगै गौशालाको दिर्घकालिन व्यवस्थापनको लागि अक्षयकोष समेत स्थापना गर्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो ।