ओलीले ५ वर्ष नै सरकार चलाउने, प्रचण्ड कार्यकारी अध्यक्ष

विकल्प न्यूज/काठमाण्डौं
मंसिर ४ गते ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच पूर्वसहमतिअनुसार कार्यविभाजन भएको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुनुअघि भएको सहमतिअनुसार एक अध्यक्षले सरकार र अर्का अध्यक्षले पार्टी सञ्चालन गर्ने निर्णय भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले पूरै कार्यकाल सरकार चलाउने र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकारी अध्यक्षका रूपमा पार्टी सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

‘अध्यक्षद्वय कमरेडहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वरीयताताक्रम यथावत हुनेछ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘अध्यक्ष क. केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष क. प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने ।’

बैठकको अध्यक्षता संयुक्त रूपमा गर्ने तर बैठक सञ्चालन भने अध्यक्ष प्रचण्डले गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

‘बैठक संयुक्त अध्यक्षतामा बस्नेछ तर आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन क. प्रचण्डले गर्ने,’ बैठकका निर्णयबारे जानकारी दिँदै प्रवक्ता श्रेष्ठले थपे ।

संसद्को यो कार्यकालमा सरकारको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले नै गर्ने निर्णय भएको उनले बताए ।

यद्यपि पार्टी र सरकार दुई अध्यक्षबीचको सहमतिमै सञ्चालन हुने जानकारी उनले दिए ।

आजको बैठकले मन्त्रिपरिषद् हेरफेरका विषयमा पनि निर्णय गर्ने अपेक्षा गरिएको थियो तर यससम्बन्धी कुनै निर्णय नभएको प्रवक्ता श्रेष्ठले बताए ।

मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको कार्यक्षेत्रभित्र पर्ने विषय भएको भन्दै उनले यसबारे प्रधानमन्त्रीले छिट्टै निर्णय लिने विश्वास व्यक्त गरे । lokaantar.com