विद्यालयहरुमा जेसीजको मूल ट्रफी यात्रा

विकल्प न्यूज/बेनी
मंसिर ४ गते ।
म्याग्दी जेसीजको आयोजनामा आगामी मंसिर ९ गतेदेखि १४ गतेसम्म बेनीबजारमा हुने १८ औं जेसीज कप फुटबलको पूर्व सन्ध्यामा विद्यालयहरुमा रनिङ्ग ट्रफीको प्रदर्शन गरिएको छ ।

जेसीज कप फुटबलको इतिहासमा यो पहिलो पटक अभ्यास गरिएको म्याग्दी जेसीजका महासचिव सन्दीप खत्रीले जानकारी दिनुभयो ।
गत कार्तिक २९ गते पश्चिमी क्षेत्र दरबाङ, बावियाचौर र सिंगामा रहेका विद्यालयहरुमा मूख्य रनिङ्ग ट्रफि प्रदर्शन गरिएको थियो ।
विद्यार्थीहरुको हौसला बृद्धि गर्न र विद्यालयहरुलाई औपचारिक निमन्त्रणा गर्नका लागि ट्रफि यात्रा गरिएको म्याग्दी जेसीज वर्ष २०१९ का शाखा अध्यक्ष जेसी खम थापा मगरले बताउनुभयो ।

त्यसैगरी मंसिर ४ गते सदरमुकाम बेनीबजारका विद्यालयहरुमा समेत उक्त ट्रफि प्रदर्शन गरिएको थियो । ट्रफि यात्राको क्रममा जेसीज कपलाई अझै व्यवस्थापन गर्न, नयाँ ढंगले अगाडि बढाउन विभिन्न विद्यालयहरुबाट सुझाव प्राप्त भएको मूल संयोजक हरि भण्डारीले बताउनुभयो ।

बन्धुत्वका लागि जेसीज कप फुटबल भन्ने नारा सहित आयोजना गरिएको फुटबल प्रतिया ेगितालाई प्रतियोगिताको रुपमा समेत नलिई बन्धुत्वको विकास गराउने उद्देश्ले यात्राको क्रममा विद्यालयहरुलाई बल समेत उपहारको रुपमा प्रदान गरिएको थियो ।

यात्रामा म्याग्दी जेसीजका संस्थापक अध्यक्ष रमेशकुमार श्रेष्ठ, पूर्व अध्यक्ष विनय श्रेष्ठ, मूल संयोजक हरी भण्डारी लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

वल्र्ड कपको रुपमा चिनिने जेसीज कप फुटबलले विद्यालय स्तरका प्रतिभाहरुलाई प्रष्फुटनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको छ ।

जेसीज कफ फुटबलकै निमित्त विभिन्न विद्यालयहरुले झन्डै २ महिना अगाडिबाट समेत अभ्यास गर्दै आईरहेका छन् । विभिन्न उपसमिति बनाएर तयारी तिव्र पारीएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको टाईटल स्पोन्सर नरेश मोवाईल सेन्टर बेनी, मुख्य प्रायोजक सन्तोष श्रेष्ठ स्मृति कोष बेनी म्याग्दी, प्रायोजक रारा हार्डवयर बेनी म्याग्दी र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेका छन् ।