ताजा समाचार:
Search

जलजलामा आयोजना हुने गौमहोत्सवलाई आचार्यद्धारा एकलाख सहयोग

विकल्प न्यूज/बेनी
मंसिर २ गते । 

पर्वतको उत्तरी जलजला गाउँपालिका ७ मिलनचोकमा नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवलाई मिलनचोक निवासी जमुना आचार्यले एकलाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ ।

सोमबार आचार्यले गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव मुल समितिलाई एकलाख एघार हजार एकसय एघार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो । यसै गरी अहिले सम्म प्रतिव्यक्ती पाँचहजार पाँचसय ५५ रुपैयाँ सहयोग करिब ६ सय जना आयोजक समितिको सदस्य भइसकेको गौमहोत्सव मुल आयोजक समितिका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो । महोत्सव अवधिभर १२ सय जनालाई आयोजक समितिको सदस्य बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

महोत्सवलाई सफल बनाउन सबै क्षेत्रबाट तयारी सुरु गरिएको आयोजकले जनाएको छ । स्थानीय गाईको संरक्षण गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न गौ महोत्सवको आयोजना गर्न लागिएको हो । जलजला ७ मा सञ्चालित गण्डकी गोपाल गौशालाले मिलनचोकमा आगामी मंसिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गर्न लागेको हो । गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ । धार्मिक र प्रयाबरणीय रुपमा समेत गाईको महत्व ठुलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणको लागि पहल गर्ने उदेश्यले गौमहोत्सवको रुपमा महायज्ञ सञ्चालन गर्नुपरेको अध्यक्ष आचार्यले बताउनुभयो ।

स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् । गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिब जगन्नाथ आचार्यले जानकारी दिनुभयो ।

महायज्ञ एवम् गौमहोत्सवबाट बचत हुने रकमलाई पूर्वाधार विकाससंगै गौशालाको दिर्घकालिन व्यवस्थापनको लागि अक्षयकोष समेत स्थापना गर्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो ।