माझफाँटमा सञ्चालित आँखा शिविरको पहिलो दिन दुइसय ८० ले सेवा लिए

विकल्प न्यूज/जलजला
मंसिर १ गते ।     जलजला गाउँपालिका–३ मल्लाजमा आइतबार देखि सुरु भएको निशूल्क आँखा शिविरमा दुई सय ८० जनाले सेवा लिएका छन् । लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा र आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा आयोजना गरेको शिविरको पहिलो दिन आँखा परिक्षण र औषधि वितरण गरिएको शिविरका संयोजक तुलसीराम रेग्मीले जानकारी दिनुभयो । शिविरको दोस्रो र तेस्रो दिन मोतियाबिन्दुको शल्यक्रिया हुने उहाँले जानकारी दिनुभयो । आइतवार शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले शिविरले न्यून आर्थिक अवस्था भएका सर्वसाधारणहरुलाई सहयोग पुगेको बताउनुभयो ।पैसाको अभावमा उपचारबाट बञ्चित भएकाहरुलाई लयान्सले घरदैलोमै शिविर सञ्चालन गरेर उदाहरणीय कार्यगरेको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष देविन्द्र भण्डारीले पनि शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । शिविरमा आँखा परिक्षण, परामर्श, मोतियाबिन्दुको शल्यक्रिया र निशुल्क चश्मा वितरण सेवा दिइने क्लवका बिक्रम सुवेदीले बताउनुभयो । माझफाँट, लेकफाँट, बासखर्क, शालीजा, धाइरीङका साथै म्याग्दीको बेनी आसपासका ठाउँबाट बिरामी शिविरमा आएका छन् ।मल्लाज कोतघर परिसरमा परिक्षण तथा स्वास्थ्य चौकीमा शल्यक्रिया गरिने भएको छ ।  क्लवका अध्यक्ष दिनेश बानियाको अध्यक्षता, जोन चियर पर्सन दिलीप बरुवालको स्वागत र सचिव दलबहादुर जिसीको सञ्चालनमा उद्घाटन  कार्यक्रम सम्पन्न भएको थियो ।