ताजा समाचार:
Search

म्याग्दीमा सडक दुर्घटना कारण ः जिर्ण सडक र थोत्रा सवारीसाधन

विकल्प न्यूज/बेनी
कार्तिक २९ गते ।बिममा भएको बस दुर्घटना स्थल । तस्विर सामाजिक सञ्जाल

डेढहप्ता अघि मालिका गाउँपालिका ७ बिममा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गयो । बिम दुर्घटनाको दुइदिन अगाडि रुममा भएको जिप दुर्घटनामा २ जनाको ज्यान गयो थियो । यि दुवै अवस्थालाई हेर्दा जिर्ण सडक,थोत्रा सवारीसाधन,क्षमता भन्दा धेरै यात्रु बोक्नु र अपरिपक्क चालक दुर्घटनाको कारण बने । सडक दुर्घटना निम्तीनुमा तिनै कारणहरु दोषी भएको भएको जिल्ला ट्राफिक कार्यालयको बुझाई छ । विगत चार वर्षको तथ्याङ हेर्दा ३८ जनाले सडक दुर्घटनामा ज्यान गुमाइसकेका छन् । भने सयौं घाइते र अङ्गभङ्ग भएका छन् ।

सडक खन्ने तर सडको स्तरउन्नतीमा ध्यान नदिँदा सडकको अवस्था जिर्ण छ । जथाभावी निर्माण गरिएका ग्रामिण साघुरो र ग्रेड नमिलेका सडक, क्षमता भन्दावढी यात्रु बोक्नुका साथै थोत्रा सवारी साधनका कारण दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख विष्णुबहादुर नेपाली बताउनुहुन्छ ।
सडकको जीर्ण अवस्था
जिल्लाका अधिकांश सडकहरु जिर्ण छन् । वर्षेनी करोडौं रकम सडकमा लगानी गरेपनि सडकको अवस्था जस्ताको त्यस्तै छ । स्थानीय सरकारले सडक निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दछन् । सडक स्तरउन्नतीमा स्थानीय सरकारको ध्यान नपुग्दा ग्रामिण सडकहरु अधिकांश जिर्ण छन् । गाउँमा सडक खन्नु र सवारी गुडाउनुलाई गाउँलेहरु गर्व मान्छन ।

सवारीमा यात्रा गर्ने सपनालाई साकार पार्न सबै मिलेर सडक त खन्छन तर सवारी गुडाउनका लागि उपयुक्त सडक बन्यो कि बनेन त्यसबारे परिक्षण नै नगरी पहाडी तथा ग्रामिण क्षेत्रमा स्थानीय श्रोत साधनबाट सडक विस्तार गरी सवारी कुदाउने गरेका छन जुन दुर्घटनाको कारणका रुपमा देखिएका छन ।

हिउँदमा मर्मत गर्ने र बर्खायाममा जस्ताको त्यस्तै हुने अवस्था छ । वर्षेनी करोडौं रकम सकिएपनि सडकको अवस्थामा कुनै सुधार आउन सकेको छैन । सडकको घुम्ती साँघुरा छन् । विना सर्भे डोजर चालकको भरमा सडक निर्माण हुने र त्यहि सडकमा जवरजस्ती सवारीसाधन गुडाउने प्रचलनले दुर्घटना बढेको ट्राफिक प्रमुख नेपालीले बताउनुभयो । दुर्घना न्यूनिकरणमा ट्राफिक कार्यालयले सचेतनामुलक कार्यक्रमहरु गरिरहेको तर न्यूनिकरण गर्न भने कठिन भएको उहाँको भनाई छ । सडक र्ममत र स्तरउन्नतीलाई सम्बन्धित निकायले ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
दक्ष चालकको अभाव
दुर्घटनाको जोखिम बढ्नुमा अर्को कारण दक्ष चालकको अभावका हो । चालकलक्षित सचेतना तथा जानकारीमूलक अभियानहरू ट्राफिक प्रहरीले सञ्चालन गरेपनि यो अपुग छ । यातायात व्यवसायीका समितिहरुले समय समयमा प्रशिक्षण व्यवस्था गर्नुपर्ने देखिन्छ । अर्को यात्रुहरुको चाप, सडकको अवस्थाको अनुगमन नहुनु दुर्घटनाका कारण बनेको छ ।
थोत्रा सवारी साधन
ग्रामिण कच्ची सडकका कारण सवारीसाधन चाँढो थोत्रा हुनुले पनि दुर्घटनाको जोखिम वढेको छ । जिल्लामा नयाँ सवारी साधन भित्रीएपनि अधिकांश सवारी साधन पुरना र थोत्रा भएको ट्राफिक कार्यालयको भनाई छ । प्राविधिक तथा यान्त्रिक रुपमा सवारी साधन गुडाउन मिल्ने हो होइन भन्ने परिक्षण नगरी ग्रामिण सडकमा मनपरीतरिकाले सवारी साधन गुडिरहनुले दुर्घटनाको जोखिम बढेको ट्राफिक प्रमुख नेपालीले बताउनुभयो । जिर्ण सडक, जिर्ण सवारी साधन, क्षमता भन्दा बढी लोड दुर्घटनाको कारण बनेको उहाँको भनाई छ ।

तीव्र गतिमा सवारी चलाउने, प्राविधिक तथा यान्त्रिक खरावी भएको सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु चढाउने, जोखिम मोलेर नयां र अप्ठ्यारो सडकमा सवारी चलाउने, हेलचेक्राई तथा रिसाएर सवारी चलाउने, कम उमेरमा ठुला सवारी चलाउनु, सडक प्रयोगबारे ऐन कानुन बारे चेतना नहुनु दुर्घटनाका कारणहरु छन् ।
ट्राफिक प्रहरीको अनुरोध

झुण्डिएर, कोचिएर, हुडमा चढेर यात्रा नगर्न ट्राफिक प्रहरीले सर्वसाधारणहरुमा अनुरोध गरेको छ । आफुलाई सहज हुनेगरी सुरक्षित यात्रालाई ध्यान दिन ट्राफिक कार्यालयले अनुरोध गर्दछ प्रमुख नेपालीले भन्नुभयो । सडकको असहजतालाई व्यवस्थापन तथा आवागमनलाई सहजीकरण गर्ने निकाय ट्राफिक प्रहरी भएकाले ग्रामिण क्षेत्रमा पनि पुगेर सवारी साधनको चेकजाँचलाई पछिल्लो समय कडाई पारिएको उहाँले बताउनुभयो ।
सडक दुर्घटनाका कारण ज्यान जानेको संख्या थपिदै
सडक यातायात असुरक्षित बन्दै गईरहेको छ । सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । दुर्घटनामा निर्दोष सर्वसाधरणहरुले अकाल मृत्युवरण गर्नु परेको छ । अपांङ्ग भएर बांच्न बाध्य छन । धनको क्षति त्यतीकै छ दुर्घटनाले व्यक्ति, परिवार, समाजलाई ठुलो क्षति भईरहेको छ । चालु आर्थिक बर्षको कात्तिक १७ सम्म ५ वटा सवारी दुर्घटनामा ८ जनाले ज्यान गुमाइसकेका छन भने ७१ जना घाईते भएका छन ।

ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार, म्याग्दीमा बिगत चार बर्ष यता सवारी दुर्घटनामा ३८ जनाले ज्यान गुमाइसकेका छन । आर्थिक बर्ष २०७२÷७३ मा ८ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु र ४५ जना घाईते, ०७३÷७४मा १४ वटा सवारी दुर्घटनामा ६ जनाको मृत्यु, ५२ जना घाईते, ०७४/७५ मा १४ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु, ३२ जना घाईते, ०७५\७६ मा ७ वटा सवारी दुर्घटनामा २ जनाको मृत्यु र १८ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी जवान बैकुण्ठ पौडेलले जानकारी दिनुभयो ।

सवारी दुर्घटनामा कमि ल्याउन सरोकारवाला पक्षहरु सवैको ध्यान जानुपर्ने उहाँले सुझाव दिनुभयो । सडक मर्मत र स्तरउन्नतीमा ध्यान पुग्न सके दुर्घटनालाई न्यूनिकरण गर्न सकिने उहाँको भनाई छ ।