ताजा समाचार:
Search

व्यवसायीको नमुना काम ः १८ महिनामा सक्नुपर्ने काम ७ महिनामै सम्पन्न

ठाकुरप्रसाद आचार्य /विकल्प न्यूज
कार्तिक २५ गते ।
निर्माण व्यवसायीहरुले समयमै काम सम्पन्न नगर्दा कतिपय योजनाहरु अलपत्र परेका छन् । मुलुकभर साना देखि ठूला योजनाहरु निर्माण व्यवसायीहरुको लापरबाही कारण थला परेका खबरहरु आइरहेका समयमा म्याग्दीमा भने योजना सक्नुपर्ने समय भन्दा एघार महिना अगावै निर्माण सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिको सभाहल सहितको दुइतला भवन निर्माण व्यवसायीको कार्यकुशलताका कारण समय अगावै सम्पन्न गरेर उदाहरणीय बनेको छ । भवन निर्माणको जिम्मा पाएको थानी जयलक्ष्मी जेभी काठमाण्डौंले प्रयाप्त जनशक्ति र पूँजी परिचालन गरी सम्झौता गरेको सातमहिनामै निर्माण सम्पन्न गरी उदाहरण प्रस्तुत गरेको हो ।

१८ महिनामा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनी सँग सम्झौता भएको थियो । तर व्यवसायीले सात महिनामै सम्पूर्ण काम सम्पन्न गरेर नमुना प्रस्तुत गरेको जिसस प्रमुख देवेन्द्रबहादुर केसीले बताउनुभयो । सम्झौता अवधि सम्म निर्माण होला भन्ने आशा गरेका थियौं जिसस प्रमुख केसीले भन्नुभयो, ‘सुरु गरेको सातमहिनामै सवै काम सम्पन्न गरेर भवन हस्तान्तरण भयो ।’ काम थालेको सुरुका दिन देखि नै निर्माणलाई तिव्रता दिएको देख्दा पक्कै पनि चाँढै सम्पन्न हुन्छ भन्ने विश्वास लागेको थियो उहाँले भन्नुभयो ।

१८ महिनामा निर्माण सम्पन्न गर्न २०७५ चैत १८ गते एक करोड ६७ लाख २६ हजार दुईसय ७५ रुपियाँमा सहरी विकास तथा भवन कार्यालय बागलुङ सँग ठेक्का सम्झौता भएको थियो । सम्झौता भएसँगै कार्यक्षेत्रमा परिचालन भएको कम्पनीले भवन निर्माणलाई तिव्रता दिएको थियो ।

निर्माण व्यवसायीले कामदार तथा आवश्यक सामाग्री समयमै परिचालन गरी योजना सम्पन्न गरेको सहरी तथा भवन विकास कार्यालय प्रमुख तेजिन्द्र पौडेलले बताउनुभयो ।

निर्धारित समय अगावै काम सम्पन्न गर्ने निर्माण व्यवसायीलाई प्रोत्साहित सहित बोनस दिने नियम भएको प्रमुख पौडेलले बताउनुभयो । सम्झौता भन्दा एघार महिना अगावै भवन निर्माण सम्पन्न गरेकाले सम्झौता रकमको शून्य दशमलव शून्य पाँच प्रतिशतका दरले प्रत्येक दिन दश प्रतिशत नबढ्ने गरी बोनस पाउने नियम भएको उहाँले बताउनुभयो । यस भन्दा अघि पनि तिनवटा योजनाहरु समय अगावै सम्पन्न गरेकाले उक्त कम्पनीले समयमै काम सम्पन्न गर्ने पहिचान बनाएको उहाँले बताउनुभयो । निर्माण सम्पन्न गरेर ठेकेदार कम्पनीका प्रतिनिधि जयन्द्र श्रेष्ठ कार्तिक १८ गते सहरी विकास तथा भवन कार्यालयका प्रमुख पौडेल मार्फत जिससका खरिदार नारायण जैशीलाई भवनको चापी हस्तान्तरण गर्नुभयो ।

ढिलासुस्ती गर्ने र योजनाहरु अलपत्र पार्ने प्रवृत्तिका कारण ठेकेदार बदनामी भएका छन निर्माण कम्पनीका प्रतिनिधि श्रेष्ठले भन्नुभयो, ‘हामीले जिम्मा लिएका योजनाहरु समय अगावै निर्माण सम्पन्न गरेका छौं ।’ योजना निर्माणमा ढिलासुस्त गर्ने नीति छैन उहाँले भन्नुभयो, ‘समय अगावै काम सक्ने र बोनस खाने हाम्रो नीति हो ।’ सहरी विकास कार्यालय बागलुङ मार्फत सम्झौता भएका तिनवटा योजनामा बोनस खाएको उहाँले बताउनुभयो ।

ढिलासुस्ती नगरी योजना समयमै सम्पन्न गरेकाले अन्य योजनाहरुबाट पनि बोनस रकम कम्पनीले पाउन सफल भएको उहाँले बताउनुभयो । दुई तला भएको पक्की भवनमा माथिल्लो तलामा पाँचसय जना भन्दा वढी अटाउन सक्ने क्षमता भएको एक सभाहल र भूई तलामा जिससको कार्यालय राख्नका लागि ६ कोठा रहेका छन् ।

निर्माण भएको जिसस सभाहल । तस्विर ठाकुरप्रसाद आचार्य