माझफाँटमा मंसिर १ देखि ३ गते सम्म निशुल्क आँखा शिविर

विकल्प न्यूज/जलजला
कार्तिक २४ गते ।  लायन्स क्लब अफ बेनी मल्लाजले आगमी मंसिर १ देखि ३ गते सम्म निशूल्क आँखा शिविरको आयोजना गर्ने भएको छ ।

उत्तरी पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ स्थित माझफाँटमा क्लबले निशुल्क आँखा शिविरको आयोजना गर्न लागिएको शनिवार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
तिन दिनसम्म सञ्चालन हुने शिविरमा निशुल्क रुपमा आँखाको उपचार गर्नुका साथै मोतियाबिन्दुको शल्यक्रिया गरिने क्लबका अध्यक्ष दिनेश बानियाँले जानकारी दिनुभयो ।

पर्वत बेनीमा बसेको क्लबको तेस्रो वैठकले हिमालयन आँखा अस्पताल पोखरा र आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा शिविर सञ्चालन गर्ने निर्णय गरेको क्बलका महासचिव शिव जिसीले बताउनुभयो । आँखा शिविर सञ्चालन गर्नका लागि क्बलका हेल्थ डाइरेक्टर तथा वडा नम्बर १ का अध्यक्ष तुलसी राम रेग्मीलाई कार्यक्रम संयोजक तोकीएको छ । यसैगरी आर्थिक व्यवस्थापनमा चन्द्रबहादुर क्षेत्री,आवस तथा खाना व्यवस्थापनमा रविन जिसी,स्वयमसेवक परिचालन राजकुमार परियार र यातायात व्यवस्थापन गोरखबहादुर जिसीलाई जिम्मेवारी तोकीएको महासचिव जिसीले जानकारी दिनुभयो ।

शिविरमा आएका विरामीहरुलाई निशुल्क रुपमा चस्मा पनि वितरण गरिने क्लबले जनाएको छ । लायन सदस्यहरु विक्रम सुवेदीले एकसय पिस,दुर्गाराज भण्डारीले पचास पिस,विशाल कँडेलले पचास पिस चस्मा निशुल्क रुपमा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । यसै गरी क्लबका अध्यक्ष बानियाँले एकसय पिस चस्मा उपलब्ध गराउने बताउनुभयो ।

आँखा सम्बन्धी समस्या भएका बिरामीलाई गाउँमै उपचार सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको क्लवका अध्यक्ष दिनेश बानियाले बताउनुभयो । उहाँका अनुसार शिविरमा कम्तीमा बीस जना मोतिया बिन्दुका बिरामीको शल्यक्रिया गर्ने लक्ष्य छ ।

आँखा परिक्षण, परामर्श, मोतियाबिन्दुको शल्यक्रियाका साथै निशुल्क चस्मा वितरण गरिने भएको लायन्स क्लवका जोन चियर पर्सन दिलीप बरुवालले बताउनुभयो ।

शिविरबाट जलजला गाउँपालिकाको बाँसखर्क, माझफाँट, लेकफाँट, शालिजा, धाइरीङ, बनौ, नाग्लीवाङ, म्याग्दीको नांगी राम्चे, बेनी र आसपासका बिरामीहरुलाई लक्षित गरेर शिविर आयोजना गरिएको क्लबले जनाएको छ ।