ताजा समाचार:
Search

च्युरीबोटको माविलाई सहयोग गर्ने विदेशी संस्थालाई सम्मान

साधन राम्जाली /विकल्प न्यूज
कार्तिक १९ गते । जिल्लाको एक विद्यालयको शैक्षिक विकासका लागि विदेशी संस्थाले सहयोग गरेको छ । मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको सिद्धार्थ माविको शैक्षिक विकासका लागि फ्रान्सको नमस्ते ईन्फान्ट डी हिमालयले आर्थिक सहयोग उपलब्ध गराएको हो । सहयोग गर्ने उक्त संस्थालाई गाउँलेहरुले भव्य रुपमा सम्मान गरेका छन् ।

विद्यालयद्धारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सहयोगी संस्थाकी अध्यक्ष एन्नी क्लेरी पुन र संस्थाका कार्यक्रम संयोजक रोसन पुनलाई मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले कदरपत्रले सम्मान गर्नुभएको हो । साथै सोही अवसरमा विद्यालय सहित स्थानीयबासीले नाचगान, बाजागाजा तथा पुख्र्यौली ख्याली सोरठी नाच मार्फत स्वागत तथा सम्मान गरे ।

राज्यको दायित्व संस्थाले बहन गरेको बताउनुहुँदै उहाँले सहयोगलाई सही सदुपयोग गर्न आग्रह गर्नुभयो । न्युन दरबन्दी तथा आर्थिक अभाव रहेका विद्यालयमा संस्थाले पु¥याएको योगदान महत्वपुर्ण रहेको अध्यक्ष रोका मगरको भनाइ छ । साथै संस्थाको हरेक कार्यक्रममा गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो ।

शिक्षामा सबैको समान पहुँच बढाउन र गुणस्तीय शिक्षाका लागि सबैले जोड दिनुपर्ने अध्यक्ष रोका मगरले बताउनुभयो । सिमित स्रोत साधनको कारण शिक्षामा पर्याप्त मात्रामा लगानी बढाउन नसकिएको उहाँको भनाइ छ । गाउँपालिका भित्र रहेका न्युन दरबन्दीका ३९ वटा विद्यालयमा समुदायबाट संचालित शिक्षक व्यवस्थापनका लागि गाउँपालिकाले यस बर्ष करिब ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

‘शैक्षिक क्षेत्रलाई गुणस्तरिय बनाउन आवश्यक पुर्वाधार निर्माण संगै दक्ष जनशक्ति व्यवस्थापनलाई जोड दिइएको छ,’ अध्यक्ष रोका मगरले भन्नुभयो । ‘ यस बर्ष गाउँपालिकाबाट ३९ विद्यालयमा निजि स्रोतका शिक्षक व्यवस्थापनका लागि करिब ४० लाख रुपैयाँ बजेट विनियोजन गरेका छौं ।’ अध्यक्ष रोका मगरले गाउँपालिका केन्द्र दरबाङमा उच्च माध्यामिक तहको क्याम्पस स्थापनाको तयारीमा रहेको बताउनुभयो ।

सहयोगी संस्था नमस्ते ईन्फान्टस डी हिमालय फ्रान्सकी अध्यक्ष एन्नी क्लेरी पुनले नेपालको दुर्गम भेगका विद्यालमा अध्ययनरत गरिब विपन्न तथा जेहेन्दार बालबालिकालाई सहयोग गर्न तथा सामाजिक विकास संस्थाको मुख्य लक्ष्य रहेको बताउनुभयो ।

सन् २००६ मा स्थापना भएको संस्थाले च्युरीबोट संगै नेपालका अन्य ९ वटा शैक्षिक तथा अनाथलय क्षेत्रमा आर्थिक सहयोग गर्दै आइरहेको जानकारी दिनुभयो । क्याप्टेन लक्ष्मन पुन र उहाँकी श्रीमतीको पहलमा विद्यालयलाई सहयोग गर्न सफल भएको बताउनुभयो । विदेशमा आफुहरुले कमाएको केही अंश संस्थामा बचत गरी नेपालमा सहयोग गर्दै आइरहेको उहाँको भनाइ छ ।

‘विशेष गरेर नेपालको दुर्गम ग्रामिण भेगका गरिब विपन्न परिवारका बालबालिकालाई सहयोग गर्न,शैक्षिक तथा समाज विकासमा टेवा पु¥याउने उद्धेश्यले सेवामुलक संस्थाको रुपमा सन् २००६ मा फ्रान्समा संस्था स्थापना गरेका हौं’ अध्यक्ष पुनले भन्नुभयो ।

‘संस्थाको साधारण सदस्यता शुल्क,नयाँ बर्ष तथा चावपर्वमा सांस्कृतिक कार्यक्रबाट संकलन भएको सहयोग ,नेपाली हस्तकला सामाग्री र पुराना फलामको कवाडीका सामाग्री बजारमा बेचेर आएको आम्दानी संस्थामा बचत गरी नेपालको शैक्षिक तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ । संस्थाले हाल शैक्षिक ,अनाथलय लघुजलविद्युत लगायत ९ वटा संस्थालाई सहयोग गर्दै आएको छ ।’

संस्थाले च्युरिबोटको सिद्धार्थ मावि,चिमखोला सहित ९ वटा शैक्षिक,अनाथलय, लघुजलविद्युत संस्थालाई आर्थिक सहयोग गर्दै आइरहेको संस्थाका कार्यक्रम संयोजक रोसन पुनले जानकारी दिनुभयो । यसअघि भुकम्प प्रभावित अन्नपुर्ण गाउँपालिका –५ शिखमा विद्यालय भवन निर्माण लगायत दुर्गम गाउँका विरामीलाई लक्ष्यित गरी आँखा शिविर संचालन गरिसकेको कार्यक्रम संयोजक पुनले जानकारी दिनुभयो ।

संस्थाले सन् २०१४ देखी विद्यालयमा अध्यापनरत दुई जना शिक्षकको तलबका आर्थिक सहयोग गर्दै आइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर पुन मगरले जानकारी दिनुभयो ।

न्युन दरबन्दी रहेको विद्यालयमा च्युरिबोटबासीले शिक्षक व्यवस्थापनका लागि ठुलो आर्थिक समस्या झेल्दै आइरहेका थिए । माध्यामिक तहको कक्षा दश सम्म पठनपाठन हुने विद्यालयमा च्युरिबोट,छाप,खबाङ र महभिर गाउँका गरी करिब दुई सय जना विद्यार्थी अध्ययनरत छन् ।

च्युरिबोट घर भई हाल फ्रान्समा कार्यरत क्याप्टेन लक्ष्मन पुन र उहाँकी पत्नी माया को पहलमा नमस्ते ईन्फान्ट डी हिमालय फ्रान्सले सन् २०१४ देखी दुई जना शिक्षकको तलबको लागि मासिक ३५ हजार रुपैयाँ बढी आर्थि सहयोग गर्दै आइरहेको विद्यालयका प्रअ ललितबहादुर घर्ति मगरले जानकारी दिनुभयो ।

दरबन्दी अभावका कारण विद्यालय संचालनका लागि स्थानीय बासीलाई ठुलो आर्थिक भार पर्ने गरेको प्रअ घर्ति मगरले बताउनुभयो । संस्थाको सहयोग पछि विद्यालय संचालनमा सहज भएको उहाँको भनाइ छ ।

कार्यक्रममा फ्रान्सका बृद्धबृद्धाले बुनेर पठाएको जाडोमा लगाउने कपडा वितरण गरिएको थियो । कार्यक्रममा मालिका गाउँकार्यपालिका सदस्य मनरुपा घर्ति मगर,विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष एवम् प्रअ तमबहादुर पुन ,पुर्व अध्यक्ष झकेन्द्रमान पुन तथा संस्थाका इजावेल,भेरोटिक,जेरा,मारिऐलेन ,मनकुमारी पुन लगायतको उपस्थिति रहेको थियो ।