बिम बस दुर्घटनामा ज्यान गुमाएका चार जनाकै सनाखत

विकल्प न्यूज/बेनी
कार्तिक १८ गते ।

म्याग्दीको पश्चिम मालिका गाउँपालिका–७ बिममा आईतवार साँझ भएको यात्रुबहाक माईक्रो बस दुर्घटनामा ज्यान गुमाएका चार जनाकै सनाखत भएको छ ।
दरबाङबाट बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४७६ नम्बरको बस साँझ साढे ६ बजे गलघन्टी भन्ने ठाउँमा दुर्घटना हुँदा बसमा सबार चार जनाको घटना स्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परि ज्यान गुमाउनेमा ७० बर्षिय सतदेवी भट्टचन, ११ बर्षिया आयुसा जुग्जाली र ९ बर्षिय रवि जुग्जाली सहित गुल्मीको कालिगण्डकी गाउँपालिका–२ निवासी ३० बर्षिय विष्णु पाण्डे रहेकोे जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माले जानकारी दिनुभयो ।
मृतक तीन जना बिम निवासी हुन भने पाण्डे आफन्त भेटघाटको लागि बिम जाँदै गरेको पाईएको छ । सो सबमा ३३ जना सवार रहेका थिए । दुर्घटनामा घाईते भएका २८ जनामध्ये केहि दरबाङ पथमिक स्वास्थ्य केन्द्रमा उपचार गरि घर फर्किएका छन् ।

सामान्य बाहेकका घाईतेहरुलाई प्राथमिक उपचार गरि प्राथमिक स्वास्थ्य केन्द्रले बेनी अस्पतालमा रेफर गरेको थियो । घाईते भएका मध्ये ५ जनालाई बेनी अस्पतालमा उपचार पश्चात थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरा रेफर गरिएको र ४ जना अस्पतालमै उपचाररत रहेको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश शर्माले जानकारी दिए ।

घुम्तीमा मोड नपुगेपछि बस सडकबाट खसेको हुनसक्ने प्रहरीले जनाएको छ । बस सडकको घुम्तीबाट करिब ५० मिटर तल खसेको छ ।
दुर्घटनामा परि घाईते भएकाहरुकोउद्धारमा दरबाङ स्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली, जनप्रतिनिधि र स्थानीयबासी खटिएका थिए ।