ताजा समाचार:
Search

जलजलाको धाइरिङमा हुने पहिलो गौ महोत्सवको तयारी तिव्र (भिडियो सहित)

विकल्प न्यूज/बेनी
कार्तिक १७ गते ।  पर्वतको उत्तरी जलजला गाउँपालिका ७ धाइरिङमा नेपालमै पहिलो पटक गौ महोत्सवको आयोजना गरिने भएको छ । मंसिर १९ देखि २६ गते सम्म आयोजना हुने गौ महोत्सवको तयारी तिव्र पारिएको आयोजक गण्डकी गोपाल गौशालाले जनाएको छ ।
स्थानीय गाईको संरक्षणको लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको हो । जलजला गाउँपालिका–७ मिलनचोकमा गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

वडा नम्बर ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाइ संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार, महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ । गौमहोत्सवको तयारीबाट जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष आचार्यले धार्मिक र प्रयाबरणीय रुपमा समेत गाईको महत्व ठुलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणको लागि पहल गर्ने उदेश्यले गौमहोत्सवको रुपमा महायज्ञ सञ्चालन गर्नुपरेको बताउनुभयो ।

स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् ।गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिब जगन्नाथ आचार्यले जानकारी दिए । उनले महायज्ञ एवम् गौमहोत्सवबाट बचत हुने रकमलाई पूर्वाधार विकाससंगै गौशालाको दिर्घकालिन व्यवस्थापनको लागि अक्षयकोष समेत स्थापना गर्ने उद्देश्य राखिएको बताउनुभयो ।

महायज्ञमा करिब ५ करोडबढी आर्थिक संकलन गर्ने लक्ष्य लिईएको छ । महायज्ञको व्यवस्थापन संगै छिमेकी जिल्ला, स्थानीय तहहरु र देशव्यापि रुपमा प्रचारप्रसारलाई तिब्रता दिईएको समितिका उपाध्यक्ष शिव जिसीले जानकारी दिनुभयो । महायज्ञ अवधिभर स्वामी कमलनयनाचार्य संगै पण्डित सुनर्शन बरालको कथा बाचन र प्रवचन रहनेछ ।

जलजला गाउँपालिका र कुश्मा नगरपालिकाले संयोजन गरेको महायज्ञमा रु ५ हजार ५ सय ५५ भन्दा बढी सहयोग दिने दाताहरुलाई आयोजक घोषणा गरिने प्रस्ताब गरिएको छ भने महोत्सव अवधिभर १ हजार बढीलाई आयोजक सदस्य बनाउने लक्ष्य लिइएको आयोजक समितिका बरिष्ठ उपाध्यक्ष डण्डपाणी रिजालले जानकारी दिनुभयो । अहिलेसम्म ४ सय जनाले आयोजक सदस्य बनेका छन् ।

कालञ्जर क्षेत्र र गौशालाको विकासको लागि आयोजित महायज्ञलाई सफल बनाउनको लागि गाउँपालिकाले समेत आबश्यक पहल गरेको जलजला गाउँपालिका–४ का वडा अध्यक्ष भिष्म मल्लले बताउनुभयो । उहाँले यस अघि गाउँपालिकाले गौशालाको पूर्वाधार निर्माण र कालञ्जर पर्वतको विषयमा डाक्टर जगन्नाथ रेग्मीले तयार पारेको पुस्तक प्रकाशनमा समेत आर्थिक सहयोग गरेको जानकारी दिए ।

यस विराट् ज्ञानमहायज्ञ एवम गौमहोत्सवले गाईको महत्व बढाउने र गौशालाको पुर्वाधार विकाससंगै म्याग्दीको भुरुङतातोपानी देखि पर्वतको जलजला, हम्पाल हुँदै पातिचौर सम्मको क्षेत्रलाई समेटिएको कालञ्जर पर्वतको ऐतिहाँसिक महत्व र सम्भावना उजागरमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा घोषणा गरेको सन्दर्भमा कालञ्जर क्षेत्रको प्रचार प्रसार र पूर्वाधार विकासमा सरोकारवालाको ध्यानकर्षण गराउने र धार्मिक पर्यटक भित्र्याउन गौमहोत्सव सहयोगी हुने आयोजकले जनाएको छ । कालञ्जर पर्वतलाई पवित्र तपोभूमिको रुपमा पुराणहरुमा समेत व्याख्या गरिएको छ ।
गाईको महत्व यस्तो छ
पछिल्लो समय गाईपालन हराउन थालेसंगै लोप हुन लागेको गाईको धार्मिक र पर्यावरणीय महत्व रहेको छ । हिन्दु धर्मावलम्बीहरुले लक्ष्मीको रुपमा गाईलाई पुजा गर्छन् । गाईको सेवाबाट ऋषि, महर्षि, राजर्षिहरुले शक्ति, सौभाग्य प्राप्त गरेको प्रसंगहरु पुराणमा उल्लेख छ ।

हिन्दु धर्मावलम्बीहरुको लागि गाई जन्मदेखि मृत्यु सम्म नै अति आबश्यक जनावर मानिन्छ । गाईबाट प्राप्त हुने पञ्चतत्व दुध, दही, घ्यू, गोवर र गहुँतको धार्मिक महत्व संगै आयुर्वेद र चिकित्साशास्त्रमा समेत उपयोगी मान्ने गरिएको छ । गाईको मल खेति गर्नको लागि अति उपयोगी मानिन्छ भने गाईको प्रशोधन गरिएको गहुँत आयुर्वेद औषधी बनाउन प्रयोग गरिने भएकाले असिमित महत्व बोकेको गाई संरक्षणको लागि पहल थालिएको महायज्ञ आयोजक समितिले जनाएको छ ।

मानव सभ्यतासँग जोडिएको गाईको दूध, दहि, घ्यु पोषिलो हुने मान्यता रहेको छ । गहुँतको प्रयोगबाट १४८ किसिमका रोग निदान हुन रसियन शोधकर्ताहरुको अनुसन्धानबाट पुष्टि भएको छ । परम्परागत समाजमा गाईपालन बृहत रुपमा हुँदै आएपनि पछिल्लो समय भने विस्तारै हराउँदै जान थालेको छ ।
बृहत गाईपालनको योजना प्रस्ताब
गाई संरक्षणलाई प्रमुख उदेश्य राखिएको यस गौमहोत्सवबाट संकलन हुने रकमबाट अहिले धाईरिङमा रहेको गौशालाको क्षमता विस्तार गरि गाईपालनलाई बृहत बनाउने योजना अघि सारिएको छ । मुल आयोजक समितिले धाईरिङदेखि माथि विशाल जंगल रहेको र चरण क्षेत्रको अभाब नहुने भएकाले यस क्षेत्रमा गाईपालनको केन्द्र बनाउने योजना अघि सारेको हो ।

गौशालाको क्षमता विस्तार गर्न सकेमा अहिले बेनी, बागलुङ र कुश्मामा छाडा छोडीएका गाईलाई गौशालामा लगेर व्यवस्थित गरिनेछ । जलजला र हम्पालको राष्ट्रिय वन क्षेत्रलाई गौशालामा पालिने गाईको लागि चरण क्षेत्र बनाउन प्रस्ताव गरिएको छ ।

गौशालामा पालिएका गाइको गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यहरुका लागि बिक्री गर्ने र गोबरलाई प्राङ्गारिक मलको रुपमा उपयोग गर्ने योजना बनाइएको आयोजक समितिका आर्थिक संयोजक समेत रहेका बरिष्ट उपाध्यक्ष डण्डपाणी रिजालले जानकारी दिए । महायज्ञमा गाईको महत्व र फाइदाका विषयमा धार्मिक प्रवचन संगै गाई पूजा, गौदान भजन कृतन समेत प्रस्तुत गरिनेछ ।