शान्तिकोषलाई २ लाख सहयोग

विकल्प न्यूज/बेनी
कार्तिक १४ गते । 

म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई दुइलाख सहयोग प्राप्त भएको छ । गरिबी र विपन्नताका कारण उपचारबाट बन्चित भएकाहरुलाई सघाउन संचालन गरिएको अभियानमा बेनी नगरपालिका वडा नं ६ छाप स्थायी घर भई हाल यूकेमा ब्यवसाय गर्ने किसान जिसीले उक्त सहयोग गर्नुभएको हो । बिहिबार एक कार्यक्रममा उहाँले २ लाख सहयोगको घोषणा गर्नुभएको हो ।

कोषको सचिवालयमा आयोजित कार्यक्रममा जिसीले कोषको सरक्षक सदस्यता लिदै विपन्नको उपचारमा सहज हुने विश्वास लिनुभयो । ‘म सँग प्रसस्तै पैसा भएर होईन्,‘आर्थिक अभावले कसैले पनि मृत्युलाई रोज्नुपर्ने बाध्यताको अन्त्य गर्न सघाउने प्रयास मात्रै गरेको छु’ जिसीले भन्नुभयो ।

कोषमार्फत गरेका हरेक अभियानका बारेमा जानकारी भएको बताउँदै पवित्र संस्थामार्फत गरिने हरेक अभियानको असर दिर्घकालिन हुने बताउनुभयो ।

सोही अवसरमा कोषका अध्यक्ष राजेश शाक्यले २ करोडकोे अक्षय कोष स्थापना गरी त्यसबाट नियमित सहयोग गर्न सहज हुने बताउनुभयो । कोषका प्रथम उपाध्यक्ष हरिकृष्ण गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

बेनी नगरपालिका–४ की ओमकुमारी शान्ती पुन हाईपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन सुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा स्थापना गरिएको कोषले आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका म्याग्देलीको उपचारमा आर्थिक जुटाइरहेको छ ।

कोषमार्फत ब्लड क्यान्सर, मुटु, मृगौला, हाडजोर्नी, आँखा, नशा लगाएत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ ।संस्थाको विधानमा आजिवन सदस्यता ५ हजार ५५५, ब्यक्तिगत २ लाख र संस्थागत ३ लाख सहयोग गर्नेलाई संरक्षक घोषणा गर्ने प्रावधान रहेको छ ।