अन्नपुर्णको सर्वोदय माविलाई ३ लाख पुरस्कार

सुरेन गुरुङ /विकल्प न्युज
बेनी ,कात्तिक ७ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानी स्थित सर्वोदय माध्यामिक विद्यालयले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । माविलाई नेपालको सामुदायिक विद्यालयहरुको पूर्वाधार र शैक्षिक गतिबिधिमा सहयोग गर्दै आएको दक्षिण कोरीयाको एक संस्थाले सर्वोदय माविलाई तीन लाख रुपैयाँको पुरस्कार प्रदान गरेको हो ।

दक्षिण कोरीयाको “अम हङ्ग गिल फाउण्डेशन”ले काठमाडौमा भएको संस्थाको दशौ वार्षिकोत्सव कार्यक्रममा सर्वोदय माविलाई बुधबार एका कार्यक्रमका विच सो पुरस्कार प्रदान गरेको हो । १७ जिल्लाका सामुदायीक विद्यालयमा सघाउँदै आएको संस्थाले कार्यक्रम लागू भएका मध्य सबैभन्दा उत्कृष्ट भएकाले सर्वोदयलाई प्रोत्साहनका लागि पुरस्कृत गरेको संस्थाले जनाएको छ ।

कार्यक्रममा विज्ञान, प्रबिधि तथा शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वुद्धी बहादुर पुन, प्रअ किसान पुन लगायत विद्यालयका प्रतिनिधिहरुलाई नगद पुरस्कार र प्रशंसापत्र प्रदान गर्नुभएको थियो । कक्षा १ देखि ८ सम्म कम्प्युटर विषयको पठनपाठन हुन्छ ।

सो संस्थाको डेढ करोड रुपैयाँ सहयोगमा कक्षा १२ सम्म पठनपाठन हुने सर्बोदय माविको ९ कोठे भवन निर्माण भएको छ । संस्थाले गत वर्ष कम्प्युटर ल्याब स्थापनाका लागि १९ थान ल्यापटप सहयोग गरेको थियो भने कम्प्युटर ल्याबका साथै विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । विद्यार्थीहरुलाई पोशाक, झोला, कापी र कलम लगायत शैक्षिक तथा खेलकुदका सामग्री पनि सहयोग गरेको छ । विद्यालयमा करिब तीन सय जना विद्यार्थी अध्ययनरत छन् । संस्थाले नेपालका १७ जिल्लाका सामुदायिक विद्यालयको भवन निर्माण, कम्प्युटर ल्याब स्थापना र शैक्षिक सामग्री वितरणमा सघाउँदै आएको छ ।