ताकममा नेकपाको कार्यकर्ता प्रशिक्षण

विकल्प न्यूज/बेनी
कार्तिक ३ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धवलागिरी गाउँपालिका स्तरीय संगठित पार्टी सदस्यहरुका लागि शनिबार ताकममा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गाउँपालिका कमिटिका अध्यक्ष खुमनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघका नेता गिरिप्रसाद छन्त्याल नेकपा सम्बद्ध नेपाल शिक्षक संगठनमा प्रवेश गर्नुभएको थियो ।

छन्त्याललाई नेकपाका जिल्ला इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा, प्रदेश सदस्य खुमबहादुर बानिया, जिल्ला कार्यालय सदस्य रेशम जुग्जाली, गाउँपालिकाका अध्यक्ष थमसरा पुन लगायतले स्वागत गर्नुभएको थियो ।

सो कार्यक्रममा सांसद थापाले पार्टी कमिटिसंग समन्वय गरेर सत्ताको कामलाई व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । सत्ता र पार्टीको सन्तुलन मिलाएर लैजानुपर्ने थापाको भनाई थियो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिकाको विकास, योजना र बजेट बिनियोजनमा बिशेष प्राथमिकता दिइने समेत सांसद थापाले बताउनुभयो ।

गाउँपालिका कमिटिका सचिव देउप्रसाद छन्त्यालको सञ्चालन र गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा प्रदेश सदस्य खुमबहादुर बानिया, जिल्ला कार्यालय सदस्य रेशम जुग्जालीले प्रशिक्षण दिनुभएको थियो ।