राष्ट्रिय महिला भलिबलको कप्तानमा म्याग्दीकी अरुणा चयन

विकल्प न्युज
बागलुङ,असोज ३० गते ।
नेपाली राष्ट्रिय महिला भलिबल टिमको कप्तानमा म्याग्दीकी अरुणा शाही चयन भएकी छिन् ।
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका–३ पिप्लेमा जन्मिएकी शाहीलाई नेपाल भलिबल संघले नेपाली महिला टिमको नयाँ कप्तानमा अरुणालाई चयन गरेको हो । नियमित कप्तान विनिता बुढाथोकी राष्ट्रिय टिम बाहिर रहदा नेपाली महिला टिम कप्तान विहिन रहेको थियो ।

भलिबल संघका महासचिब जितेन्द्र बहादुर चन्दले मंगलबार बैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड जानु अघि विदाई कार्यक्रममा बंगलादेशमा हुने एसियन भलिबल कन्फेडेरेसन ९एभिसी० सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालको कप्तानी अरुणाले गर्ने जानकारी दिए ।

‘हामीले सेन्ट्रल जोनका लागि कप्तानमा अरुणाको नाम पठाएका छौँ,’ महासचिब चन्दले भने ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड जानु अघि नेपालले कप्तानको तय गरेको हो । नेपाली टिम बुधबार थाइल्याण्ड जाने छन् ।


नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) र बंगलादेशमा एभिसी सेन्ट्रल जोनको तयारी गर्न नेपाली टिम थाइल्याण्ड जान लागेका हुन् ।

अब नेपालले अरुणाको कप्तानीमा पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन खेल्ने छ । एभिसी सेन्ट्रल जोन कात्तिक २२ देखि २७ गतेसम्म हुनेछ ।सेन्ट्रल जोनपछि नेपालले मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमिमा हुने साग खेल्ने छन् । सागमा पनि अरुणाले नै नेपालको कप्तानी गर्ने सम्भावना रहेको छ ।नियमित कप्तान विनिता भने यस पटक राष्ट्रिय टिमको प्रारम्भिक चरणमै परेकी थिइनन् । विनिता हाल बिच भलिबलको राष्ट्रिय टिममा रहेकी छिन् ।