ताजा समाचार:
Search

फोरजी विस्तारको तयारी पूरा

विश्वास रेग्मी

काठमाडौँ, असोज १५ गते । 

नेपाल टेलिकमको महìवाकाङ्क्षी परियोजनाका रूपमा रहेको फोरजी सेवा विस्तारको कामले आज ठोस नतिजा हासिल गर्दै छ । फोरजी विस्तार परियोजना सम्झौता भएको करिब आठ महिनापछि बुधबार देशका विभिन्न दुई दर्जन बढी स्थानमा यसको पहुँच विस्तार हुँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकै पटक भिडियो कल गरेर फोरजी विस्तारको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

कम्पनीको व्यवसायको अधिकतम हिस्सा थ्रीजीले ओगटेको सन्दर्भमा विस्तार परियोजनासँगै विश्वभर प्रचलनमा रहेको फोरजी पुस्तामा टेलिकमले ठूलो फड्को मार्ने छ । यसअघि काठमाडौँ उपत्यका र पोखरामात्र सीमित टेलिकमको फोरजी करिब तीन वर्षपछि बुधबार यी क्षेत्रबाहिर पुग्ने भएको छ ।

मङ्गलबारसम्म तोकिएका स्थानमा फोरजी विस्तारको अन्तिम तयारीका काम भइरहेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो ।

‘मङ्गलबार रातिसम्म पनि ‘अप्टिमाइजेसन’को काम भइरहन्छ’ उहाँले भन्नुभयो ‘बुधबार विभिन्न सहरमा विस्तार गर्न अब तयार भइसकेका छौँ ।’ उहाँका अनुसार यस क्रममा फोरजीको गति २४७ एमबीपीएससम्म पुगेको पाइएको छ ।
नेपाल टेलिकमले बुधबार सबै महानगरपालिकासहित मुख्य सहरमा फोरजी विस्तार गर्दै छ । यसबाहेक केही जिल्ला सदरमुकाममा पनि यो सेवा विस्तार हुने छ ।

पहिलोपटक २२ सहरमा फोरजी पु¥याउने लक्ष्य राखिएकोमा बीटीएस स्थापनाको काम धमाधम भइरहँदा नयाँ ठाउँहरू पनि बढिरहेको प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढीमा फोरजी सेवा सुरु हुने छ । त्यस्तै रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा पनि यो सेवा बुधबार नै सुरु हुने छ । मङ्गलबार यो सूचीमा इलाम पनि थपिएको छ ।

नेपाल टेलिकमले फोरजी विस्तारका लागि आठ सय ब्यान्डमा प्राप्त १० मेगाहर्जमा फोरजी सेवा उपलब्ध गराउन लागेको हो । काठमाडौँ र पोखरामा हाल उपलब्ध गराइएको फोरजी सेवा १८ सय ब्यान्डमा रहेको १० मेगाहर्ज फ्रिक्वेन्सीलाई प्रविधि तटस्थतामार्फत फोरजी सेवा सञ्चालनमा ल्याइएको हो । आठ सय ब्यान्ड फोरजीकै लागि तोकिएको ब्यान्ड हो ।

सेवाप्रदायकलाई ग्राहक बढाउन पनि यो ब्यान्ड फाइदाजनक मानिन्छ । टेलिकमले विस्तार गर्न लागेको फोरजी अहिले उपलब्ध जस्तो नभएर भीओएलटीई प्रविधिको हुने छ । यसको अर्थ ग्राहकले अहिलेजस्तो भ्वाइस र इन्टरनेट फरकफरक चलाउनुपर्ने छैन ।

इन्टरनेटमै आधारित रहेर भ्वाइस कल गर्नसक्ने सुविधा अब विस्तार हुने फोरजीमा उपलब्ध हुने छ । यद्यपि टेलिकमका अनुसार यस्तो सेवा लिन ग्राहकसँग भीओएलटीई प्रयोग गर्नसक्ने मोबाइल सेट भने हुनुपर्ने छ । नेपाल टेलिकमले करिब १९ अर्ब रुपियाँ लगानीमा देशैँभर फोरजी सेवा विस्तार गर्न लागेको हो । gorkhapatraonline