ज्ञान प्रकाश माविको ४४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

सुरेन गुरुङ /विकल्प न्युज
शिख, असोज ६ गते ।
म्याग्दीको अन्नपुर्ण गाउँपालिका –३ दाना स्थित ज्ञानप्रकाश माविले विविध कार्यक्रम सहित आफ्नो ४४ औं वार्षिकोत्सव एव्म अभिभावक दिवस मनाएको छ । विद्यालयले सोमबार गण्डकी प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेबी पुन मगरको उपस्थितीमा एक समारोहका विच वार्षिकोत्सव एव्म अभिभावक दिवस मनाएको हो ।

कार्यक्रममा मन्त्री पुन मगरले विद्यालयलाई बार्षिक उत्सवको शुभकामना व्यक्त गर्नुभयो । उहाँले शिक्षा मन्त्रालयको नमुना विद्यालयको रुपमा ज्ञान प्रकाश नमुना विद्यालय छनौट हुन सफल भएकोमा बधाई दिनुभयो । ग्रामिण भेग ,दरबन्दी अभाव र सिमित श्रोत साधनका बावजुत पनि नमुना विद्यालयको रुपमा छनौट हुनु सामुदायीक विद्यालयका लागि ठुलो उलब्धी भएको बताउनुभयो ।

उहाँले सामुदायीक विद्यालयलाई गुणस्तरिय र प्रभावकारी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको समेत उद्धघोष गर्नुभयो । विद्यालयकोे शैक्षिक गुणस्तर बृद्धी र प्रभावकारी बनाउन सरकारको एकल प्रयासले मात्र सम्भब नहुने भन्दै अभिभावक, शिक्षक र विद्यार्थी विचमा सहकार्य हुन आवश्यक रहेको उहाँको भनाइ छ । शिक्षा र स्वास्थ्य सेवालाई सर्बसुलभ र प्रभावकारी बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको मन्त्री पुनले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर केसी,गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले विद्यालयलाई बार्षिकोत्सवको शुभकामना दिनुभएको थियो । यसैगरी जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख दल बहादुर थापा मगरले सामुदायीक विद्यालयमा न्युन दरबन्दी हुँदा स्थानीय समुदायलाई विद्यालय संचालनमा ठुलो आर्थिक भार पर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका भित्र गत बर्ष एसईईमा उत्कृष्ट अंक ल्याउने तीन जना विद्यार्थीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । गाउँपालिकाका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले घोषणा अनुसार आफुले पाउने सेवा सुविधाबाट ज्ञान प्रकाश माविका छात्र एलिस पाइजालाई ५० हजार र सोही विद्यालयकी एलिना बैरागीलाई २५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । अनुपस्थित मुक्तीमार्ग मावि घारकी पवित्रा खड्कालाई २५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । सो आर्थिक सहयोग रकम मन्त्री पुनले हस्तान्तरण गर्नुभएको हो ।

आर्थिक अभावका कारण गरिब परिवारका उत्कृष्ट ,जेहेन्दार विद्यार्थीलाई अध्ययनमा समस्या नहोस् भनि हौसला प्रदान गर्नका लागि आर्थिक सहयोग गरेको अध्यक्ष क्याप्टेन गर्बुजा पुनले बताउनुभयो । गाउँपालिकाबाट पाउने सेवासुविधा समेत नलिनुभएका अध्यक्ष क्याप्टेन गर्बुजा पुनले आगमी दिनमा पनि शैक्षिक क्षेत्रमा सहयोग गर्ने बताउनुभयो । गाउँपालिकाले सामुदायी विद्यालयको गुणस्तर बढाउन विभिन्न कार्यक्रम संचालन संगै शिक्षक मिलानलाई विशेष प्राथमिकता दिएको उहाँको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ले बेल बहादुर पुर्जाको अध्यक्षता र शिक्षक बुद्धि मिजारको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वडा नं ३ का अध्यक्ष नरसिं पुर्जा ,गाउँपालिका शिक्षा संयोजक भरत गर्बुजा ,जिल्ला समन्वय समितिका सदस्य मेख बहादुर गर्बुजा ,गाउँपालिका सदस्य एव्म न्यायिक समितिका बुद्धि पुन लगायत विभिन्न संघ संस्थाको उपस्थिती रहेको थियो । विद्यालयलय वार्षिक उत्सवको अवसरमा गत वर्षको परिक्षामा प्रथम ,द्धितिय र तृतिय हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरेको थियो ।