दरबाङमा कांग्रेसको जागरण अभियान

विकल्प न्युज
बेनी ,असोज ५ गते ।
नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा २ को जागरण अभियान दरबाङमा सम्पन्न भएको छ । कांग्रेसको दोस्रो चरण अन्तर्गतको हिमाल ,पहाड र तराइ जनजागरण अभियान अन्तर्गत आइतबार मालिका गाउँपालिका ६ दरबाङमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बिरले जनताको दुख पिडा र बुझ्न र सरकारले गरेका गलत क्रियाकलापको भण्डाफोर गर्न अभियान संचालन गरेको बताउनुभयो ।

दुइ तिहाइ बहुमत प्राप्त कम्युनिष्ट सरकारले जनतालाई निराश मात्र बनाएको बताउनुभयो । प्रतिपक्षको रुपमा कांग्रेसले सरकारलाई सहयोग गरेपनि कम्युनिष्ट सरकारले जनभावना अनुसार काम गर्न नसकेको उहाँको भनाइ । दुई तिहाइको आडमा सरकारले प्रतिपक्ष संग छलफल नगरी जनताको हित विपरित काम गरेको आरोप समेत लगाउनुभयो । चुनावको समयमा बाचा गरेअनुसार आफु पनि जनता र कार्यकर्ताको घरदैलोमा गुनासो सुन्न आएको बताउनुहुँदै सरकारको गलत प्रवृतीका विरुद्ध जनस्तरबाटै दावद दिनुपर्नेमा जोड दिनुभयो ।

बर्तमान सरकार काण्डैकाण्डमा फसेको सभापति गर्बुजाको भनाई छ । सरकार आफै भ्रष्टाचार ,सुनकाण्ड,वाडबडी काण्ड तथा विभिन्न घटनामा फसेकाले जनताको विश्वास गुमाएको बताउनुभयो । काम थोरै गफ धेरै भएकाले विकास निर्माण लगायत जनताको आधारभुत सेवा सुविधामा पनि सरकार चुकेको दावी गर्नुभयो ।

साथै सभापति गर्बुजाले कार्यकर्तालाई निराश नहुन समेत आग्रह गर्नुभयो । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनताको हितका लागि इमानदारी भएर काम गर्न समेत निर्देशन दिनुभयो । कार्यक्रममा निवर्तमान सभापति एवम् संविधान सभा सदस्य रेशम बहादुर बानियाँ ,नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष विमला गौचन ,प्रदेश सभा २ का सभापति कमल छन्त्याल ,टंक पुन र बोमबहादुर चोचाङ्गी पुन मगरले बोल्नुभएको थियो । सचिव हिराबहादु पुनको संचालन र सचिव श्रिराम पौडेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।