मानवीय सेवाको नमुना अभियान (सम्पादकीय)

विकल्प न्यूज/बेनी
भदौं २५ गते ।
‘दिन जान्यो,बाच्न जान्यो’ यो नारा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषको हो । पाँच वर्ष अघि स्थापना भएको शान्तिकोष म्याग्दीमा मात्र होइन नेपालमै नमुना संस्थाका रुपमा अघि बढेको छ । शान्तिकोषको सहयोगले गरिब र विपन्न परिवारका एकसय भन्दा वढीले नयाँ जीवन पाएका छन् । कोषले एककरोड पचास लाख रुपैयाँको अक्षयकोष बनाउने घोषणा समेत गरेको छ । यो आफैमा महान अभियान हो । पैसाको अभावमा रोग निको पार्न अस्पताल सम्म पुग्न नसकेर कसैले पनि मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना नहोस् भनेर कोषले अभियान सञ्चालन गरेको छ । जटिल रोगबाट ग्रसित एकजना म्याग्देली चेलीलाई बचाउन सुरु गरिएको अभियानले आज शान्तिकोषको जन्म भएको हो । अभियानले ति चेलीलाई बचाउन नसकेपनि दर्जनौं चेलीहरुलाई कोषले नयाँ जीवन दिएको भने पक्कै छ ।

हाईपोलास्टीक एनीमिया रोगबाट पीडित बेनी नगरपालिका ४ की २८ वर्षीय ओमकुमारी पुन “शान्ति”को उपचारबाट बचेको पैसाबाट २०७१ सालमा कोषको स्थापना भएको थियो । शान्तिको २०७१ साल असार १८ मा उपचारको क्रममा निधन भएको थियो । उनको उपचारबाट बचेको केही रकमबाट सुरु भएको अभियान आज करिब एककरोड रुपैयाँ सकंलन भइसकेको छ । भने सातसय भन्दा बढी आजिवन सदस्य भइसकेका छन् । गरिब र विपन्न परिवारलाई उपचारमा सहयोग गर्न स्थापना भएको कोषले अहिले सम्म विभिन्न व्यक्तिहरुको उपचारका लागि करिब एककरोड रुपैयाँ जुटाएर उपचारमा सहयोग गरेको छ । 

देश विदेशमा रहेका म्याग्देलीहरु यो महाअभियानमा लामबद्ध भएका छन् । संसारको जुनसुकै कुनामा पुगेको म्याग्देली किन नहोस शान्तिकोषले सञ्चालन गरेको अभियानमा जोडिन पुग्छन । यो अभियानले गर्दा मानिसहरु मानवीय सेवामा जवरजस्ती रुपमा भएपनि जोडीन पुगेका छन् । मानिसहरुमा मानवीय सेवाको भावना जागृत गराउन कोष सफल भएको छ । शान्तिकोषलाई व्यवस्थित रुपमा सञ्चालन गर्न पक्कै पनि केही चुनौतीहरु त छन् । संस्थालाई राजनीतिक गन्धरहित बनाउन र आर्थिक पारदर्शीता कायम राख्न चुनौती छ । संस्थाले अहिलेसम्म आफ्नो शाख र गरिमा बचाउन सफल भएको छ ।

यसलाई भविष्यमा पनि निरन्तरता दिन सक्नुपर्दछ । कसैले पनि कोषप्रति प्रश्नचिन्ह खडा गर्ने वातावरण बनाउन हुँदैन । कोषलाई आम गरिब र विपन्न परिवारको भरोसाको केन्द्र बनाउनुपर्दछ । जो अहिले पनि छ । संस्थाले संरक्षक सदस्य र आजिवन सदस्यता वृद्धि गरी डेढ करोड होइन दुईकरोडको अक्षयकोष स्थापना गर्नुपर्दछ । रोग लागेर अस्पताल सम्म पुग्न पनि पैसा नहुँनेहरुका लागि कोष बरदान सावित भएको छ । कोषले आगमी दिनमा अझै आफ्नो अभियानलाई उचाईमा पु¥याउन सकोस् शुभकामना । नवविकल्प साप्ताहिक