अस्पतालको शैयाबाट सुत्केरी आमाको अपील

विकल्प न्यूज/बेनी
भदौं २५ गते ।
एउटा आमा आज अस्पतालको शैयामा छटपटाइरहुनभएको छ । उहाँ जिवनमरणको दोसाँधमा हुनुहुन्छ । अस्पतालको शैयाबाट जीवन बचाउन आमाले हारगुहार गर्नुभएको छ । उहाँका आँखाबाट आशुका थोपाहरु निरन्तर झरीरहेका छन् । आशुले काखमा च्यापेको बच्चा झिजेको छ ।

सुन्दर सपनाहरु बुनेर प्रसुति हुन अस्पताल पुग्नुभएकी बेनी नगरपालिका ५ पुलाचौरकी निशा सुवेदीको जीवनमा कल्पना नगरेको दुःख आइलाग्यो । बच्चा त काखमा आयो तर बच्चालाई स्यारसुसार गर्ने समयमा निशा आफै विरामी पर्नुभयो । बच्चालाई जन्म दिएको केही बेरमै निशाको मृगौलामा समस्या देखियो । आर्थिक अवस्था कमजोर निशाको जीवनमा नसोचेको बज्रपात भयो ।

निशाका आफन्त र बेनीका युवाहरुले निशा बचाउन अभियान सुरु गरेका छन् । पैसाको अभावमा एउटा चेलीको ज्यान जानु राम्रो होइन भनेर निशा बचाउन अभियान सञ्चालन गरिएको अभियानका संयोजक नेत्रराज सुवेदीले बताउनुभयो । मृगौलामा समस्या देखिएपछि पैसाको अभावमा अस्पतालबाट फर्किएकी निशालाई सहयोग जुटाएर पुन अस्पताल पु¥याइएको छ ।

देश तथा विदेशमा रहेका म्याग्देलीहरुले निशाको उपचारका लागि सहयोग जुटाएका छन् । हामीले सवैतिर अपील गरेका छौं अभियानका संयोजक सुवदीले भन्नुभयो, ‘सवैतिरबाट साथ पाए पक्कै पनि निशालाई नयाँ जीवन दिनसक्छौं ।’ सुवेदीका अनुसार अहिले सम्म पाँचलाख रुपैयाँ संकलन भइसकेको छ । स्वतः स्फुर्त रुपमा सहयोग गर्नेहरु अभिायनमा जोडिनुभएको छ उहाँले भन्नुभयो । निशाको उपचारका लागि चिकित्सकले धेरै पैसा लाग्ने बताएका छन् । लाखौं रकम जुटाएर उपचार गर्ने निशाको परिवारलाई सम्भव छैन ।

प्रसुतिका क्रममा समस्या देखिएपछि थप उपचारका लागि निशालाई बेनीबाट पोखरामा लगिएको थियो । मृगौलामा समस्या भएको र उपचारका लागि रकम जुटाउन चिकित्सकले भनेपछि आर्थिक अभावले अस्पतालबाट निस्किएर निशा कोठामा पुग्नुभएको थियो ।

निशाको आर्थिक अवस्था कमजोर भएकाले उपचारबाट बञ्चित भएका समाचारहरु सार्वजनिक भएपछि स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुको सहयोगले पुन निशालाई अस्पताल पु¥याइएको अभियानका संयोजक सुवेदीले भन्नुभयो ।

पिसावमा समस्या देखिएपछि उपचारको क्रममा मृगौलाको डायलासिस गनुपर्ने भएपनि आर्थिक अभाव भएपछि थप उपचारमा समस्या भएको आफन्तको भनाई छ । गत साउन २ गते सुत्केरी भएलगत्तै सिकिस्त भएकी २६ वर्षीया सुवेदीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

आर्थिक अवस्था अत्यन्त कमजोर भएको अवस्थामा परिवारबाट उपचार सम्भव नभएपछि सहयोगको अपील गरिएको छ । सुत्केरी अवस्थामै बेनी अस्पतालबाट रिफर गरिएकी सुबेदीको छोराको अस्पतालमै न्वारन गरिएको थियो । हाल दैनिक ३ सय एमएल पिसाव भइरहेकाले नियमित डायलासेससँगै औषधि सेवन गरी ६ महिनापछि मात्रै आवश्यक परेमा मात्र मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएका छन् ।

६ महिना सम्म उपचार गरेमा निको पनि हुनसक्ने चिकित्सकको भनाई छ । ६ महिना सम्म अस्पतालमा राखेर निशाको उपचारका लागि ठूलै रकमको आवश्यक पर्ने आफन्तको भनाई छ । निशाको उपचार अभियानमा सहयोग पु¥याउन निशा बचाउ अभियानले सवैमा अपील गरेको छ । नवविकल्प साप्ताहिकमा प्रकाशित