ताजा समाचार:
Search

बेनी नगरमा फर्जी बिलभरपाई बनाएर अनुदान दुरुपयोग

साधन राम्जाली /विकल्प न्यूज
भदौं २५ गते । 

बेनी/बेनी नगरपालिका अन्तर्गतको सामुदायिक सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम दुरुपयोग भएको पाइएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ४ डाँडाखेत स्थित शिवालय सिकाई केन्द्रलाई वितरण गरिएको अनुदान रकम फर्जी बिल भरपाई बनाएर दुरुपयोग गरेको खुलसा भएको हो ।

संघीय सरकारबाट विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत नगरपालिका भित्र रहेका सात वटा सामुदायिक सिकाई केन्द्रलाई १४ लाख रुपैयाँ शसर्त अनुदान प्राप्त भएको थियो । १४ लाख रुपैयाँ मध्य शिवालय सिकाई केन्द्रलाई प्राप्त भएको एकलाख ३३ हजार रुपैयाँ पहुँचवाला र ठूलाबडाले दामासाहीले बाडेका हुन ।

कार्यक्रमको उद्देश्य अनुसार परिचालन हुनुपर्ने बजेट आफूखुसी पहुँचवाला,नातापाता र फर्जी विलभरपाई बनाएर बाँडफाँड गरेको पाइएको हो ।

नगर शिक्षाबाट आयआर्जन तथा बाख्रा पालनका अनुदान पाएको सिकाई केन्द्रले आमभेला,सबैलाई जानकारी नदिई ,राजनीतिक पहुँचको आधारमा,उच्च बर्गका व्यक्तिलाई बाँडेको स्थानीयले गुनासो गरेका छन् । अनुदान रकम विधि अनुसार वितरण नगरेको स्थानीयवासीहरुले गुनासो गरेका छन् ।

कार्यक्रमका बारेमा हामीलाई कुनै जानकारी नै छैन । गुपचुप तरिकाले पहुँचवालाहरु मिलेर वाँडफाँड गरेका छन् । नाम नछाप्ने सर्तमा एकजना स्थानीयवासीले भन्नुभयो, ‘ठूलाबडाहरुले फर्जी बिलभरपाई बनाएर अनुदान रकमको दुरुपयोग गरे ।’
सिकाई केन्द्रकी परिचालिका बिष्णु कुँवर र बालमन्दिर आधारभुत विद्यालयका प्रअ एव्म सिकाइ केन्द्रका सदस्य रामप्रसाद शर्माको मिलेमतोमा,आमभेला नगरी राजनीतिक पहुँचका आधारमा कार्यकतालाई भरणपोषण गर्ने काम गरेको ति स्थानीयले बताउनुभयो ।

कुनै नयाँ बाख्रा खरिद गरिएको छैन् अनुदान वितरणमा अनियमितता भएको छ ति व्यक्तिले भन्नुभयो ‘दलित,गरिब तथा विपन्न परिवार लक्षित व्यक्तिलाई वितरण गर्नुपर्नेमा राजनीतिक पहुँचका आधारमा केही दलित तथा गरिब परिवार देखाएर उच्च बर्गका व्यक्तिलाई अनुदान वितरण गरिएको छ ।’

यता शिवालय सामुदायिक सिकाई केन्द्रले नगरपालिकालाई १९ गते पेश गरेको विल भरपाईमा पनि फर्जी विल बनाइ पेश गरेको पाइएको छ । सिकाई केन्द्रले नगरपालिकालाई पेश गरको विल भरपाईमा अनुदान वितरण गर्दा स्थानीय बाख्रापालन कृषक समुह गठन गरी २० जनालाई बाख्रा वितरण गरेको जनाइएको छ ।

वडा अध्यक्षको उपस्थितिमा स्थानीय २० जनाको बाख्रापालक कृषक समुह गठन गरी २० जना कृषकलाई वितरण गरिएको विल भरपाईमा उल्लेख गरेको भए पनि खरिद गरिएको कुनै पनि बिल समावेश गरिएको छैन् ।

अनुदान आएको रकमबाट कार्यालय व्यवस्थापन खर्च छुट्टाएर बाँकी रहेको एक लाखबाटप्रति किसान पाँच हजारका दरले र बाख्रापालक किसानबाट एक हजार गरी ६ हजार रुपैयाँमा २० वटा स्थानीय जातका बाख्रा किनेको उल्लेख गरी नगरपालिकामा फर्जी बिल भरपाई पेश गरिएको छ ।

सिकाई केन्द्रकी परिचालिका बिष्णु कुँवरले पेश गरेको विल भरपाई अनुसार सोही वडाका डाँडाखेत धैरेनीका तुलबहादुर किसानबाट असल जातका ५ वटा,वडा नं ५ निवासी पशुपति शर्माबाट ४ वटा, वडा नं ५ खहरेखोला भिरमुनी निवासी यामबहादुर खत्रीबाट ६ वटा, तथा बेनपा ४ भिमबहादुर मल्लबाट ५ वटा गरी २० वटा असल जातका बाख्रा खरिद गरी वितरण गरिएको जनाइएको छ । समुहले ५ वटा बाख्रा खरिद गरेको भनिएका तुलबहादुर किसानको घरमा भने एउटा बाख्रा र दुई पाठा मात्र छन् । मेरो एउटा मात्र बाख्रा छ दुई महिना अघि व्याएर दुई वटा पाठ्री मात्र छ मैले कसैलाई विक्री गरेको छैन् । किसानले भन्नुभयो । मसँग नभएका बाख्रा बिक्री गरेको भनेर फर्जी बिल बनाएर मेरो बद्नाम गर्न खोजीयो उहाँले बताउनुभयो ।

बेनी नगरपालिकाका सूचना अधिकारी युवराज थापाले शिवालय सिकाई अन्तर्गत २० जनालाई असल जातका बाख्रा वितरण गरिएको भनि विल भरपाइ पेश गरेको बताउनुभयो । उहाँले विल भरपाई पेश गर्दा प्रक्रिया अनुसार नभएको बताउनुहुँदै लापरबाही भएको बताउनुभयो ।

कुन फर्मबाट खरिद गरेको भन्ने कुनै विल पेश भएको छैन् सूचना अधिकारी थापाले भन्नुभयो, ‘विलभरपाई पेश गर्दा प्रक्रिया संगत मिलेको छैन्,चार जना कृषकबाट बाख्रा खरिद गरिएको भन्ने वैठकको निर्णय उल्लेख गरिएको छ विलमा समावेश छैन् यो लापरवाही हो ।’

साथै सिकाई केन्द्रले पेश गरेको विल भरपाईमा असार १६ र १९ गते गरी दुई पटक बसेको बैठकमा सिकाई केन्द्रका अध्यक्ष शेरबहादुर बरुवाल सहित अन्य केही सदस्यले गरेको हस्ताक्षर पनि फरकफरक भएको पाइएको छ ।

सामुदायिक सिकाई केन्द्रका अध्यक्ष बरुवालले हस्ताक्षर गरिदिनु भन्दै घरमै आएकाले हस्ताक्षर गरेको तर के कार्यक्रम हो भन्ने बारे आफुलाई कुनै जानकारी नभएको र आफुले पनि अरुले भनेको आधारमा थाहा पाएको प्रतिक्रया दिनुभयो ।
बालमन्दिर आधारभुत विद्यालयका प्रअ तथा सिकाई केन्द्रका सदस्य शर्माले भने अनुदान वितरणमा आफ्नो कुनै पनि संकलता नरहेको दावी गनर््ुभएको छ ।

‘मेरो फरक राजनीतिक आस्थाका कारण कसैले मेरो नाम मुछेका होलान तर उनिहरुले लगाएको आरोपमा कुनै सत्यता छैन’् ,प्रअ तथा सिकाई केन्द्रका सदस्य शर्माले भन्नुभयो ।

वडा अध्यक्ष गोविन्द प्रसाद पौडेलले अनुदानबाट सबैले बाख्रा खरिद गरेको दावी गर्नुहुँदै बाख्रा पाएका सबै किसानको घरमा अनुगमन गरेको बताउनुभयो ।

बाख्रा कहाँबाट खरिद गरिएको भन्ने आफैलाई थाहा नभएको उहाँले बताउनुभयो । ठुलो जनसंख्या र छरिएर रहेको बस्ति भएका कारण सबैलाई समेट्न नसकिएको उहाँको भनाई छ । राजनीतिक पहुँचका आधारमा कार्यकर्तालाई वितरण गर्नुभयो भन्ने प्रश्नमा उहाँले वडा ठुलो भएको अनुदान थोरै भएकाले सबैलाई समेट्न नसकिएको प्रतिक्रिया दिनुभयो ।

नगर शिक्षा संयोजक मोहन बानियाँले दिएको जानकारी अनुसार गत आर्थिक बर्षमा नगरपालिका भित्र रहेका सात वटा सिकाई केन्द्रका लागि नेपाल सरकारबाट विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत १४ लाख रुपैयाँ शसर्त अनुदान आएको बताउनुभयो ।

सामुदायीक सिकाइ केन्द्रको व्यवस्थापन र केन्द्रमा कार्यरत कर्मचारीको तलब कटाएर बाँकी रहेको ८ लाख ७९ हजार दुई सय रुपैयाँबाट वडामा रहेका सामुदायिक सिकाइ केन्द्रलाई वितरण गरिएको जानकारी दिनुभयो । वडाको सिफारिस र सामुदायिक सिकाइ केन्द्रको कार्यक्रम प्रस्तावका आधारमा अनुदान वितरण गरिएको हो शिक्षा संयोजक बानियाँले भन्नुभयो ।

कार्यक्रम अनुसार नगरपालिकाका उपमेयर सन्जु बरुवालाई अनुगमनका लागि सहकार्य गरिएको थियो । अन्य वडाका सामुदायिक सिकाई केन्द्रले कार्यक्रम सम्पन्न गरेको र उपमेयर बरुवालको संयोजकत्वमा रहेको समितिले अनुगमन गरेको बताउनुहुँदै वडा नं ४ स्थित शिवालय सामुदायिक केन्द्रले के कार्यक्रम गरिएको कुनै जानकारी नभएकाले अनुगमन नगरिएको बताउनुभयो । गत असार १४ गते बसेको नगर शिक्षा समितिले बाँकी रहेको अनुदान वितरण गर्ने निर्णय गरेको थियो ।
विाद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत वडा नं ६ स्थित ज्ञानमन्दिर सामुदायिक सिकाइ केन्द्र अर्थुङ्गेले शिक्षा मेलाका लागि एक लाख ७० हजार ,वडा नं ५ स्थित वगुवाखोला सामुदायिक केन्द्र वगुवाखोलाले १ लाख ,वडा नं २ स्थित भकुण्डे सामुदायिक विकास केन्द्रले भकुण्डेले आयआर्जन तथा बाख्रा पालनका लागि एक लाख ३३ हजार रुपैयाँ अनुदान पाएकोमा दश वटा समुहलाई दश हजारका दरले वितरण गरिएको बताइएको छ ।

यसैगरी वडा नं ९ स्थित घतान सामुदायिक सिकाइ केन्द्रले स्वास्थ्य र शिक्षा सम्बन्धी तालिम सञ्चालनका लागि एक लाख रुपैयाँ , वडा नं १० पात्लेखेत सामुदायिक सिकाई केन्द्र पात्लेखेतले अभिमुखिकरणका लागि एक लाख ३३ हजार वडा नं १ स्थित रत्नेचौर सामुदायिक सिकाइ केन्द्र रत्नेचौरले कार्यालय व्यवस्थापनका लागि एक लाख १० हजार दुई सय रुपैयाँ अनुदान पाएका थिए ।