जलजलामा स्वास्थ्य बिमा सम्बन्धी अभिमुखीकरण

विकल्प न्यूज/जलजला
भदौं २४ गते ।

जलजला गाउँपालिका–७ मिलनचोकमा मंगलबार स्वास्थ्य बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य बिमा बोर्डको आयोजनामा पर्वत जिल्लामा यसै वर्षदेखि सुरु हुन लागेको स्वास्थ्य बिमा कार्यक्रमको बारेमा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल, स्वस्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम सेविका र स्थानीय अगुवाहरुलाई जानकारी गराइएको हो ।

बोर्डका कर्मचारीले स्वास्थ्य बिमा कार्यक्रमको उद्देश्य र सेवा सुबिधा पाउने प्रक्रियाको बारेमा जानकारी गराउनुभएको थियो । यसअघि स्वास्थ्यकर्मीहरुलाई पनि अभिमुखीकरण गरिएको थियो ।
गाउँपालिकाका कार्यबाहक अध्यक्ष भिष्म मल्लको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको प्रमुख आतिथ्यता, स्वास्थ्य शाखाका संयोजक दिलेराम कामतीको स्वागत र सहसंयोजक राजु बोहोराको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तीन हजार पाँच सय रुपैयाँ शूल्क तिरेर पाँच जना परिवारका सदस्यको एक वर्षका लागि स्वास्थ्य बिमा गर्न सकिन्छ । तोकिएको अस्पतालबाट एक लाख रुपैयाँ बराबरको औषधि उपचार सेवा पाउन सकिन्छ ।

दर्ता सहयोगी छनौट गरेर दसै तिहारलगत्तै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ ।