बेनी–बरङ्जा सडकको स्तरोन्नति

विकल्प न्यूज/बेनी
भदौं २४ गते । म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर–बगरफाँट–सुर्केमेला–बरङ्जा हुँदै अर्मनको किमचौर जोडेने १० किलोमिटर कृषि सडकको स्तरोन्नति गरिएको छ ।

एक दशकअघि विसं २०६३ मा ‘ट्र्याक’ मात्रै खोलिएको सडकलाई भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीले ४८ लाख ५० हजार विनियोजन गरेपनि बजेट अभावका कारण स्थानीय जनसहभागिताबाट चार लाख ९५ हजार गरी कूल ५३ लाखको लागतमा सडक फराकिलो बनाउने, जमीनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ‘ट्र्याक’ खोल्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए ।

उनका अनुसार सडक खण्ड अन्तर्गत नयाँ पुलमा एक सय मिटर, बाहुनडाँडामा ६५० मिटर र थामडाँडामा एक सय मिटर नयाँ ट्र्याक खोलिएको छ । सडक स्तरोन्नतिको स्थलगत अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले सचेत उपभोक्ताको सक्रियतामा कम लागतमा धेरै काम भएको प्रतिक्रिया दिए ।

सडकको मापदण्डअनुसार नै निर्माण भएको यस सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा सावित हुने स्थानीयवासीले बताएका छन् । बेनी नगरपालिका २ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म जोड्ने सडकको रुपमा यस सडकलाई विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिए । रासस