म्याग्दीमा राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइयो

विकल्प न्युज
म्याग्दी,भदौ २३ गते । बेनी नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइको आयोजनामा ४०औं राष्ट्रिय शिक्षा दिवस तथा ५३औं अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइएको छ । माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयको व्यवस्थापनमा आइतबार म्याग्दीमा विविध कार्यक्रमसहित दिवस मनाइएको हो ।

दिवसको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले अबको शिक्षालाई समयसापेक्ष परिवर्तन गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता रहेको औंल्याए । बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले युग अनुसारको प्राविधिक र व्यावसायिक शिक्षा दिनुपर्नेमा जोड दिएका छन् । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले विकासको मूल आधार शिक्षा भएकाले उच्च प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रमको अवसरमा एसइई परीक्षा २०७५ मा नगरपालिकाभित्र संस्थागत विद्यालयतर्फ सर्वोत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । सम्मानित हुने विद्यार्थीहरुमा नगर प्रथम माउण्ट एभरेष्टका सलिना राम्जाली, द्वितीय हुनेहरुमा लिटिल गार्डेनका सन्देश सुवेदी, सन्तोष भट्टराई, अभिषेक पौडेल, बेनी आवसाीय माविका शशांक श्रेष्ठ, न्यु वेष्ट प्वाइन्टका योगेश बोगटी, सिजन रिजाल, ललिता बुढा र विश्वास केसी रहेका छन् ।

यसैगरी सामुदायिक विद्यालयतर्फ राष्ट्रिय माविका निशान चोखाल प्रथम, गलेश्वर माविका मनिसा किसान छात्रा प्रथम, जामुनाखर्क माविका साधारण धारतर्फ प्रतिभा ढुङ्गाना छात्रा प्रथम, बेनी सामुदायिक माविका साधारण धारतर्फ मनिका विक दलित प्रथम र जामुनाखर्कका आदर्श रामदाम दलित छात्र प्रथमलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । त्यस्तै आधारभूत तह कक्षा ८ को परीक्षामा सामुदायिक र संस्थागततर्फ सर्वोत्कृष्ट औसत जिपिए प्राप्त गर्ने शिक्षक तथा विद्यालय र विद्यार्थीलाई पनि सम्मान गरिएको छ । त्यसैगरी सामुदायिक विद्यालयतर्फ नगरपालिकाभित्र सर्वोत्कृष्ट औसत जिपिए प्राप्त गर्ने शिक्षक, एसइईमा शिक्षा मन्त्रालयको मापदण्डका आधारमा सर्वोत्कृष्ट नतिजा ल्याउने सामुदायिक तथा संस्थागत विद्यालयलाई समेत सम्मान गरिएको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसका उपसभापति माधवप्रसाद रेग्मी, बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा, नेपाल शिक्षक महासंघका अध्यक्ष जयराम सुवेदी, बेनपा–४, का वडा अध्यक्ष एवं सामाजिक विकास समिति संयोजक गोविन्द पौडेल, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका सचिव रमेशसिंह ठकुरी, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका उपाध्यक्ष देवराज शर्मा र नेपाल शिक्षक संघका अध्यक्ष दुर्गाराम सुवेदीले मन्तव्य राखेका थिए ।

बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षता र शाखा अधिकृत युवराज थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर थापाले स्वागत गरेका थिए । कार्यक्रममा उज्यालो वैकल्पिक विद्यालय तथा विभिन्न विद्यालयका विद्यार्थीहरुले गीतसङ्गीत र नृत्य प्रस्तु गरेका थिए ।