ताजा समाचार:
Search

एकादूई राजा असल हुनसक्छन तर राजतन्त्र असल किमार्थ हुनसक्दैन

चन्द्रप्रकाश बानियाँ /विकल्प न्यूज
भदौं भदौं ११ गते ।
ऋग्वेदको अष्टमध्यायमा प्रगाथ काण्व नाम गरेका ऋषिरचित एउटा ऋचा संकलित छः—“अपाम सोमममृता” (ऋ.८।४८।३) । रक्सी पिएर मातेका ऋषि काण्वलाई रक्सी पिएपछि अब आफू अमर भएजस्तो लाग्छ । हुन पनि रक्सी पिएको मान्छेले आफूलाई सबैभन्दा बलवान, सबैभन्दा विद्वान, सबैभन्दा बुद्धिमान, सबैभन्दा जान्नेसुन्ने, सबैभन्दा राम्रो ठान्न थाल्छ । त्यसको कारण मद हो । नसाले मान्छेको मष्तिष्कलाई भ्रमित हुनेगरी असर गर्छ । त्यो अवस्था ज्ञानसून्यताको हो । विवेकसून्यताको हो । त्यस्तो अवस्था चेतनासून्यतामा गएर टुङ्गिन्छ । हालसालै एकजना प्राडाले पूर्वमहाराजको दर्शन भेट पाएपछि सार्वजनिक रुपमा “अब गणतन्त्रको औचित्य समाप्त भयो” भनिदिए ! त्यो उनको विवेक होइन, भ्रम बोलेको थियो । कसैकसैलाई नसालाग्ने बस्तु सेवन गर्न पर्दैन । सुँघ्दा मात्रै पनि लाग्छ । राजनीति पनि नसा हो ।

सत्तामा त झन ठूलो नसा हुन्छ । ती प्राडा मदहोस भएर बर्बराउनुमा काल्पनिक सत्तामादकै प्रभाव हुनुपर्छ । महाराजको दर्शन गरेपछि उनी मन्त्रमुग्ध भए होलान् । साक्षात नारायणको दर्शन पाएको अनुभूति भए होला । महाराजका वाणीहरु देववाणीजस्ता लागे होलान् । महाराजको आज्ञाअनुसार राजसंस्था पुनस्थापनामा आफूले सघाएको कल्पना गरे होलान् । त्यसवापत महाराजबाट ठूलो पद वरदानमा प्राप्तभएको कल्पना गरेहोलान् । त्यही तन्द्रामै उनलाई पत्रकारहरुको फेलापरे होलान् । उनले पनि नसाको सुरमा आफूले फुमन्त्र भनेर एक चुटकी खरानी उडाइदिए पछि गणतन्त्र भष्म हुन्छ भन्ने कल्पना गरेर होलान र अर्ध चेतनामै भ्रमवस अनर्गल प्रलाप गर्नपुगे होलान् ।

नेपालमा एकसे एक कल्पनाशील मानिसहरु जन्मन्छन् । आफ्नो कल्पनाशीलता महाकवि देवकोटाले कवितामा व्यक्त गरेथे । विमान पण्डित भनेर चर्चित भएका धादिङे ब्राह्मणले राणकालमै बाँसको जहाज बनाएर उडाएथे रे । त्यो पनि कल्पनाशलतााके अब्बल उदाहरण हो । सबैमा त्यस्तो क्षमता हुदैन । कविता लेख्ने सीप छैन भन्दैमा मान्छेमा कल्पनाशीलता नै हुदैन भन्न मिल्दैन । न वैज्ञानिक आविष्कार गर्न नसक्दैमा मान्छे कल्पनाशील हुदैन भन्न मिल्छ । मात्राको घटीबढीको कुरा मात्रै हो, प्रकृतिले कसैलाई पनि त्यो गुणबाट वञ्चित गरेको हुदैन ।

हाम्रा प्रधानमन्त्रीले हालसालै हो क्या रे –“एकथरी मान्छेहरुले गणतन्त्र उल्ट्याउने षडयन्त्र गरिरहेका छन्” भनिदिए । त्यो उनको कल्पना थियो । किनकि कसैले उनका सामु उभिएर गणतन्त्र उल््ट्याउँछु त अवश्य भनेन । प्रधानमन्त्री भेष बदलेर तीत्यस्ता मान्छेको चियो गर्दै हिँडेका पनि अवश्य थिएनन् होला । त्यसैले प्रतिगमनको सम्भावना हाम्रा प्रधानमन्त्रीमा रहेको कल्पनाशीलताको वेजोड उदाहरण होजस्तो लाग्छ ।

कल्पनाशीलताको अधिकताले मान्छेलाई व्यर्थैमा दुःख दिन्छ रे ! प्रधानमन्त्रीको त्यो कल्पनाले स्वास्थ्योपचारमा सिंगापुर पुगेपनि देशमा प्रतिगमन भैहाल्छ कि भन्ने चिन्ताले सुविस्तासँग आराम गर्न÷निदाउन पनि दिएन होला र हतारो हतारो देश फर्कन विवश बनाए होला । नत्र दूई सातापछि फेरि उतै जानुपर्नेगरी किन आउँथे र ? वर्तमान राजनीतिक परिवर्तनमा आफ्नो उति ठूला भूमिका नभए पनि आफूलाई अहिलेको यो उचाईमा पु¥याएको त त्यही परिवर्तन ले हो भन्ने कुरा मनमा त अवश्य छ क्यारे । यो व्यवस्थाको गुन हाम्रो प्रधानमन्त्रीले कसरी भूल्न सक्छन् र ? चिन्ता त लाग्ने नै भो नि विचरा !

गफगाफमा मात्र होइन, साहित्यमा पनि उपमाको रुपमा “स्याल हुइयाँ” भन्ने वाक्यांश बाक्लै प्रयोग हुन्छ । चुनिएको होइन, आफ्नै पहलबाट बनेको स्यालहरुको नेताले आकाशतिर फर्केर “ओ……..हुँ…ई….याँ” भन्ने विरक्तलाग्दो नाद निकाल्नासाथ आवाज कानमा पर्ने जति सबै स्यालहरुले आफ्नो वर्तमान अवस्थाको समेत ख्याल नगरिकन कराउन थाल्छन् । नेतालाई साथ दिन्छन् । त्यो स्यालधर्म हो । कुखुरो चोर्न खोरभित्र पसेको रहेछ अथवा मुुखमा कुखुरो च्यापेकै रहेछ भने पनि नेताको आवाजको उपेक्षा गर्न सक्तैन र कराउन सुरु गरिहाल्छ । खोरभित्रै कराउँन थाल्दा कुखुरोको मालिकको फेला परिएला भन्ने विचार गर्दैन ।

मुख खोलेर चिच्याउँदा मुखमा च्यापिएको कुखुरो फुत्केर भाग्ला भन्ने चेत पनि रहँदैन । प्रतिगमन फर्काउने प्रयत्न हुनथाल्यो भन्ने प्रधानमन्त्रीको आवाज सुनेपछि दुई नम्बरका अध्यक्षले पनि बोलीमा लोली मिलाएर भनदिए – “धेरै ताउर माउर नगर, नागर्जुनबाट पनि खेदिमागौला है ।” त्यो स्यालवंशको सिको थियो । त्यसमा कुनै दम थिएन । सोचीविचारी भनिएको कुरा पनि थिएन । जसरी “हुइयाँ” को शाब्दिक अर्थ कुनै भाषाशास्त्रीले निकाल्न सक्तैन, त्यसैगरी भाका छोप्नेहरुको आवाज जति ठूलो भएपनि त्यसको कुनै अर्थ रहँदैन ।

ती दुई नेता हक्कान्निएको देख्दा आश्चर्य लाग्छ । राजसंस्था फर्काउँछौं भन्न पाउने अधिकार जनतालाई उनीहरुले नै दिएका हुन् । “हुन्छ” र “हुन्न” को संसदीय स्याल हुँइयाँको छोटो बाटो प्रयोग गरेर संविधान पारित गरियो । संविधानमा अपरिवर्तनीय कुनै प्रांवधान राखिएन ।

दुइतीहाईको संसदीय बहुमतबाट संविधानभित्र परेका सबै प्रावधानहरु च्यातचुत पार्न मिल्ने व्यवस्था गरियो । अनि यतिखेर कसैले संविधानप्रदत्त अधिकारको उपभोग गर्छु भन्दा देख्लास् पर्खलास् भन्न मिल्छ र ? जनताको मुख न संविधानले थुन्न सक्छ न बन्दुकले । पञ्चायती व्यवस्थालाई संविधानतः निर्विकल्प भनिएको थियो । विरोधमा लेखे बोलेवापत कानूनतः दण्डित हुनुपथ्र्यों । मान्छेहरु सडकमा उभिएर विरोधमा बोले त ! “मुर्दावाद” भने, “खारेज गर” भने । २०४७ साले संविधानले राजतन्त्रलाई अपरिवर्तनीय भनेको थियो ।

मानिसले गणतन्त्रको माग गरे, नाारयणहिटीको ढोकै अगिल्तिर पुगेर गद्दी मात्रै होइन, देश समेत छोड भने त जनताले ! कानुन र संविधानले जनताको मुख थुनेन त ? यतिखेर संविधान र कानूनले बर्जित गरेको छैन । नेताजीहरुको धम्की र घुर्कीले जनताको आवाज रोकिएला भनेर कसरी कल्पना गरेका होलान् कुन्नी ?

अर्काथरी यतिखेर बहुदलीय लोकतन्त्र र गणतान्त्रिक लोकतन्त्र दुबै असफल भयो । राजतन्त्र पुनस्थापना गर्नुप¥यो भनेर कराउन थालेका छन् । हो, उनीहरुलाई संविधान र कानूनले बोल्न प्रतिवन्ध लगाएको छैन तर के बोल्ने के नबोल्ने भनेर विवेक प्रयोग गर्नु पर्दैन ? शब्दकोशमा छ भन्दैमा समाजले अस्लिल मानेका शब्दहरु सार्वजनिक ठाउँमा प्रयोग गर्न थालियो भने समाजले के भन्छ ? गतिछाडा भन्ला ।

अति भयो भने पागल भनिदेला । असफल भएकै हो भने सरकार असफल भए होला । व्यवस्था असफल भैहाल्यो भन्न त कसरी मिल्छ र ? राजतन्त्रको पुनस्थापना भन्ने शब्द जनताको दृष्टिमा अस्लिल भैसक्यो । त्यस्तो शब्द उच्चारण गर्नु अस्लिल शब्दोच्चारण गरेजस्तै हो । वर्जित चेष्टा हो । अलिकता विकेक हुनेले त्यस्तो आवाज निकाल्न समेत आफै लाज मान्नुपर्छ । शब्दोच्चारण गरेवापत कानूनले दण्ड नदिए पनि समाजले दण्डित गर्नेछ । समाजमा दुर्नाम होइननेछ भन्ने हेक्का राख्नु पर्दैन ।

त्यस्तो चेष्टा समाजमा निक्रिष्ट मानिनेछ । हो, नेतृत्व असफलतातिर उन्मुख छ । फुजखर्चीतिरउन्मुख छ । विलासितातिर आकर्षित छ । जनता र समाजलाई बिर्सिन थालेको छ । त्यस्तो प्रवृत्तिको विरोध गरौं । सच्चिने आग्रह गरौैं । सच्चिदैनौं भने देखलाउ पर्खलाउ भनौं । अर्को निर्वाचनमा सिनित्त बढारिदिने चेतावनी दिउँ । सच्चिएनौ भने तिमीलाई दण्डित गर्ने नयाँ सरकार चुन्छौं भनेर पाकिस्तान, कोरिया र मलेसियाको उदाहरण अघि सारौ ।

तर व्यवस्था उल्टाउने नादानीतिर नलागौं । त्यो अनैतिक प्रयत्न हुन्छ । राजतन्त्र विश्वअभ्यासमा सबभन्दा खराब ठहरेको व्यवस्था हो । हो, केही राजाहरु असल हुन सक्छन् तर राजतन्त्र आफैमा असल हुनै सक्तैन । हो, केही नेताहरु खराब होलान् तर गणतन्त्र खराब हुनै सक्तैन । बरु यसलाई जनमुखी बनाउने कसरततिर लागौं । यो सर्वोत्तम व्यवस्था ठहर्ने छ । “सौताको रिसले लोग्नेको काख भिजाउने” भनेजस्तो नेताको रिसले व्यवस्थाको धुरी फाल्ने नादान चेष्टा नगरौं है विद्वान मित्रहरु !
हाम्रो देशमा पारस शाह नाममा एकजना पूर्व युवराज थिए भन्ने कुरा नेपालीहरुले बिर्सिसकेका छन्जस्तो लाग्दैन । राजाको छोरो हुँदैमा सबै युवराज हुन पाउँदैनन् । युवराज भनेको राजा हुने योग्यताको प्रमाणपत्र हो । पारस शाहलाई त्यो प्रमाणपत्र मिलिसकेको थियो । पारस शाह ढिलोचाँडो गद्दीनसिन हुने कुरा पक्कापक्की थियो । राजा हुँदैमा उनमा रहेको उदण्डता खरानी भैहाल्दैनथ्यो ।

गधाको सिंगझै गायव हुदैनथ्यो । त्यो त उनको प्रवृत्ति बनिसकेको थियो । अहिलेको नेताहरु भ्रष्टाचारबाट विरत हुन नसकेजस्तै हो त्यो अवस्था । पारस शाह राजा भैदिएका भए के हुँदो हो ? कल्पना गरौं त । चाहेर पनि उनको युवराज पद जनताले खोस्न सक्दैनथे । यी त खराब भएर निस्कने सम्भावन छ, अर्कोलाई युवराज बनाउँ भन्न मिल्दैनथ्यो । नागरिकलाई त्यस्तो अधिकारै थिएन ।

जनताले चाहे पनि नचाहे पनि श्रीपेच युवराज घोषित भैसकेका उन पारस शाहको शिरमा सुशोभित हुने थियो । एउट ख्याल राख्नुपर्ने कुरा के हो भने यतिखेर वदमासीमा उत्रेका नेताहरुलाई जनताले पाता फर्काउन सक्नेछन् । त्यसो भएन भने पनि मतद्वारा दण्डित गर्न सक्नेछन् ।

बदल्न सक्नेछन् । तर राजा वा युवराज भनेको त्यस्तो होइन । जनताले जहिले चाह्यो त्यैले फेर्न मिल्दैन । राजा त के युवराजलाई समेत जनताले चलाउन नपाउने व्यवस्थाको पक्षमा बोल्न लेख्न सचेत र विवेकशील नागरिकहरुले लाज मान्नुपर्दैन ?! हो हुनत, विवेक मरेपछि मान्छेले लाजशरम पचाउँछ । साँचै हो नकच्चराको ओखति हुदैन !!!