६ करोडको लगानीमा ‘हरियाली मोडल’को कृषि फार्म

सन्तोष गौतम/विकल्प न्यूज
भदौं ११ गते ।  म्याग्दीमा नयाँ मोडल (अवधारणा)को कृषि फार्म सञ्चालन भएको छ । खण्डीकृत जग्गालाई चक्लाबन्दी गरेर कम्पनीको अगुवाइमा समुहकृत पद्धतिमा व्यवसायिक रुपमा तरकारी खेती, माछा, कुखुरा र माहुरीपालन सुरु गरिएको हो ।

कृषिको आधुनिकिकरण, ब्यवसायीकरण, रोजगारी सिर्जना, उत्पादन र कृषकको आम्दानी बढाउने उद्देश्य राखिएको यो अवधारणलाई ‘हरियाली मोडल’ नाम दिइएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठले अघि सारेको अवधारणा अनुसार बेनी नगरपालिका–४ सिंगा र आगेबगरमा हरियाली समूहले करिब छ करोड रुपैयाँको लगानीमा कृषि फार्म सञ्चालन गरेको हो ।

‘विश्वमा सफल मानिएका अवधारणाहरुलाई मिलाएर विकास गरिएको हरियाली मोडल म्याग्दीमा पाइलट प्रोजेक्ट हो,’ श्रेष्ठले भन्नुभयो ‘कृषिमा देखिएको लगानी, बजार र श्रमिक अभावको समस्या हट्ने, उत्पादन बढ्ने र आयात घटाउन देशका अन्य ठाउँमा पनि यो मोडल विस्तार गर्न लागिएको छ ।’ युवाहरुलाई उत्पादनमा जोडेर रोजगारी दिने र आयात घटाउने नेपालको आवश्यकता अनुसार दक्षिण अफ्रिकाको सामुहिक खेती “टिम्बाली” र भारतका दूध उत्पादक कृषकहरुले अपनाएको “आमुल” मोडललाई समावेश गरिएको श्रेष्ठले बताउनुभयो ।

३६ जना कृषकहरुको १६० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर चक्लाबन्दी गरिएको छ । कृषकहरुलाई अधिकतम उत्पादन हुँदा प्राप्त हुने बराबरको भाडा छ/छ महिनामा अग्रिम भुक्तानी दिने गरिएको कम्पनीका प्रबन्ध निर्देशक सेरबहादुर केसीले बताए ।

कम्पनीले सञ्चालन गरेको कृषि फार्ममा कार्यरत ३६ जना कर्मचारी तथा मजदुर मध्य अधिकांश जग्गाधनी छन् । जग्गाको भाडा संगै रोजगारी पाउनुका साथै खडेरी, मल–बिउ, कृषि मजदुर, लगानी अभावको समस्याबाट कृषकले मुक्ति पाएको जग्गाधनी भगवान खड्काले बताउनुभयो । ‘बजार नजिक, सडक सुबिधा, अनुकुल हावापानी र ठूलो फाँट भएपनि खण्डीकृत जमिन, थोरै परिणाममा हुने उत्पादन र उचित मूल्य नपाउने, सिचाईको अभावले कृषि जिविकोपार्जनमा सिमित थियो,’ खड्काले भने ‘समुहकृत खेती सुरुवात भएपछि अवस्था फेरिएको छ ।’

म्याग्दी खोलाबाट विद्युतीय उपकरणको प्रयोग गरि लिफ्ट प्रबिधिबाट पानी तानेर सिचाइको व्यवस्था मिलाइएको छ । बाह्ै महिना नियमित खेती गर्न सकिने भएको छ । सात वटा पोखरीमा २७ हजार रघु, नैनि, ग्रास र कमन कार्प जातका माछा पालिएको छ ।

मासु र अण्डाका लागि छुट्टा÷छुट्टै ठाउँमा २२ हजार ब्रोइलर र लेयर्स जातका कुखुरा पालिएको कम्पनीका सञ्चालक धनलाल जैसीले बताउनुभयो । १०० घारमा माहुरी पालिएको र १०० रोपनी खुल्ला जमिन र सामान्य टनेलका अतिरिक्त आधुनिक हाइटेक प्रबिधिको पलास्टिक घर भित्र तरकारी लगाइएको छ ।चालीस लाख रुपैयाँ बराबरको मासु, तरकारी, माछा, मह र माहुरी बिक्री भइसकेको प्रबन्ध निर्देशक केसीले बताउनुभयो । कम्पनीमा आवद्ध बाहेक अन्य साना कृषकहरुले पनि कम्पनीको मापदण्ड र गुणस्तर अनुसारको उत्पादन गरेमा बजार व्यवस्थापनमा सघाउने जनाएको छ ।

छिट्टै बोयर जातका बाख्रा र वनजन्य पंक्षि कालीज पालन गर्ने तयारी गरेको कम्पनीका अध्यक्ष सुजता श्रेष्ठले बताउनुभयो । गोरखा र रोल्पामा पनि हरियाली मोडलमा कृषि फार्म सञ्चालन हुन लागेको उहाँले बताउनुभयो ।

जग्गाधनी कृषकहरु सहित ५० जनाको लगानी रहेको कम्पनीले जग्गा चक्लाबन्दी र पूर्वाधार तयार पार्ने सहितको काममा छ करोड रुपैयाँ लगानी गरिसकेको छ । यो म्याग्दी जिल्लामा हालसम्मकै ठूलो कृषि परियोजना हो । सरकारी निकायबाट अनुदान सुबिधा नलिएको सञ्चालक हरि भण्डारीले बताउनुभयो ।

तरकारी खेतीमा रासायनिक मल र विषादी प्रयोग गरिएको छैन् । गाइबस्तुको मल, कुखुराको सुली र पात पतिंगर कुहाएर प्राङगारिक मलको प्रयोग गरिएको कृषक तेजबहादुर बानियाले बताउनुभयो । कम्पनीमा कार्यरत सबैलाई सरकारले तोकेको पारिश्रमिकको व्यवस्था गरेको छ । 
कृषक केदारनाथ पौडेलले सानो क्षेत्रफलमा थोरै परिणाममा खेती गर्दा लागत बढी पर्ने र मुनाफा कम हुने भएकाले कम्पनीमा आवद्ध भएको बताउनुभयो । चक्लाबन्दी भएपछि सिचाई सुबिधा भएको, ठूलो परिणाममा उत्पादन भएकाले र बजारीकरणमा सहयोग पुगेको छ ।

बेनी, पोखरा, मुस्ताङ र तनहुँका बजारमा कृषि उपज निकासी हुने गरेको छ । खेतीमा आधुनिक कृषि औजारको प्रयोग गरिएको छ । चक्लाबन्दी गर्न नक्साङ्कन, बिजुली, निकास आदीको व्यवस्थापन कम्पनीलेनै गरेको थियो ।बेनी नगरपालिका –४ का वडा अध्यक्ष गोविन्द पौडेलले जमिन चक्लाबन्दी गरि एकिकृत रुपमा गरिएको खेतीले सिंगालाई कृषिमा नमुना बनाउन मद्दत गरेको बताउनुभयो । परम्परागत निर्वाहमुखी खेतीमा निर्भर कृषकहरुलाई व्यवसायिक बनाउन प्रेरित गरेको उहाँको भनाई छ ।