दुबै मृगौला काम नगरेपछि ३५ वर्षिय युवा जीवन मरणको दोसाँधमा

उपचारका लागि आर्थिक अभाव ः सहयोगको याचना
धु्रबसागर शर्मा /विकल्प न्युज
म्याग्दी ,आइतबार भदौ ८ गत ।
बृद्ध अवस्थाका बाबा आमा,श्रीमती र १४ वर्षिय छोराको पालन पोषण र शिक्षा दिक्षाको जिम्मेवारी । अत्यन्त कमजोर आर्थिक अवस्था । त्यसमाथि पनि दुवै मृगौलाले काम नगरेपछि अस्पतालको बेडमा उपचार गर्ने खर्चको अभावमा छट्पटाउँदै गरेका ३५ वर्षिय एक युवा । अनुमान गर्नुहोस् उनको मानसिक अवस्था कस्तो भए होला ?


म्याग्दीको बेनी नगरपालिका वडा नं ५ भीरमुनीका ३५ वर्षिय डेकनाथ शर्माका दुवै मृगौला खराब भएपछि अहिले निदान अस्पताल काठमाण्डौंको बेडमा छट्पटाइ रहेका छन् ।घरको कमजोर आर्थिक अवस्थाका कारण केही समय अघिसम्म सदरमुकाम बेनीबजारमा सामान्य चियापसल गर्दै आएका शर्माको खचानक सहनै नसक्ने गरी टाउको दुखेपछि अस्पतालमा गएर जाँच गर्दा दुवै मृगौला खराब भएको र तुरुन्त उपचार नगरे जिन्दगी नै जोखिममा रहेको चिकित्सकले बताएपछि उनलाई उपचारका लागि काठमाण्डौं लगिएको स्थानीय राज बानियाँले जानकारी दिए ।


आफन्तको मृगौला म्याच नभएपछि दाताको खोजी भैरहेको र त्यसो नभएमा एउटा मृगौला फेर्नका लागि २० देखि ६० लाख रुपैयाँसम्म खर्च लाग्ने चिकित्सकले बताएका बानियाँले जानकारी दिए । शर्माका दुवै मृगौला काम नलाग्ने अवस्थामा पुगेकाले दुवै मृगौला फेर्नु पर्ने चिकित्सकको भनाइ उद्घृत गर्दै बानियाँले भने ‘घरको आर्थिक अवस्थाले उपचार हुन सक्ने अवस्था छैन,त्यसैले हामी गाउँले मिलेर सहयोग जुटाउने अभियानमा लागेका छौं,मनकारी व्यक्तिहरुलाई शर्माको जीवन बचाउने अभियानमा सहयोग गर्न हार्दिक आग्रह गर्दछौं ।


अहिले स्थानीय भृकुटी युवा क्लव र भृकुटी आमा समूहले शर्मा बचाउँ अभियान संचालन गरेर आर्थिक सहयोग संकलन गरिरहेको छ । देश विदेशमा रहेका म्याग्देली संघसंस्था र व्यक्तिहरुसंग सहयोगका लागि अपिल गरिएको र विभिन्न मुलुकहरुमा पनि सहयोग संकलन अभियान जारी रहेको वानियाँले जानकारी दिए ।

शर्माको परिवारमा १४ वर्षका छोरा,श्रीमती र बृद्धअवस्थाका बुबाआमा छन् । शर्मा विरामी भएर अस्पतालमा भर्ना भएपछि परिवारमा पनि ठूलो समस्या आइपरेको छ । कमाइ गरेर घरखर्च चलाउने व्यक्ति नै विरामी भएपछि उपचार कसरी गर्ने भन्ने पिरलो त छ नै, त्यसमाथि पनि घरखर्च चलाउने,छोरालाई पढाउने र वृद्ध सासु ससुराको औषधोपचार गर्ने खर्चको अभावमा शर्माकी श्रीमती पनि छट्पटिइ रहेकी छन् ।
जीवन मरणको दोसाँधमा पुगेका शर्माको उपचारका लागि यथासक्य सहयोग गर्न भृकुटी युवा क्लवले सवैसंग अनुरोध गरेको छ । सहयोग गर्न चाहनेले शर्माको गण्डकी विकास बैंकको खाता नं ०२९०१२००२६१०५४००००० मा रकम जम्मा गर्न सकिने बानियाँले जानकारी दिए ।