पर्वतको खुर्कोटमा पहिरो जाँदा एकजनाको मृत्यु

विकल्प न्यूज/पर्वत
भदौं ५ गते ।  पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोले घर पुरिँदा एक जना बृद्धको ज्यान गएको छ ।
गएराति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले घर पुरिँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो । राती घरमा सुतेको अवस्थामा घर भत्किएकाले चालिसेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

पहिरोले पुरिएर बेपत्ता भएका चालिसको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजतलास गरि हेर्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार विस्तारमा सिरक ओढेर सुतेकै अवस्थामा पहिरोले पुरिएको पाइएको छ ।
प्रहरीका अनुसार मृतकको शब पोष्टमार्टमा लागि जिल्ला अस्पताल पर्वतमा ल्याईदै छ । श्रीमान श्रीमती मात्रै बस्दै आएका उक्त घरमा बुधबार नै रेमबहादुर चालिसेकी श्रीमती छोरी भेट्न घर बाहिर गएकी थिईन । उनि सम्पर्कमा आएकी छिन् ।
वर्षा भैरहेका बेला घर भन्दा माथि रहेका सिंचाई कुलोमा अत्याधिक पानी लगाएका कारण पहिरो गएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । पहिरोले घरको सबै भाग पुरेको र केही भाग बगाएको प्रहरीले जनाएको छ ।
चालिसेका दुई छोरा र चार छोरीहरु रहेका छन् । छोरीहरुको बिहेवारी भैसकेको छ भने एक छोरा विदेशमा र एक छोरा पोखरामा बस्दै आएक छन् । www.lokatantraonline.com