ताजा समाचार:
Search

बेनीको न्यूरोडमा ढकमक्क फूल (भिडियो सहित)

विकल्प न्यूज/बेनी
भदौं ५ गते ।
बेनीको न्यूरोड स्थित विजुलीका पोलमा राखिएका गमलाहरुमा यतिखेर विभिन्न प्रजातीका फुलका विरुवाहरु हुर्किदै छन् । केहीमा भर्खर कोपिला फक्रिन थालेका छन् ।

कुनै ढकमक्क फुलिसकेका छन् । फुलले बजारलाई हराभरा बनाई सुन्दरता बढाउन विजुलीका पोलहरुमा गमला राखेर फुलका विरुवाहरु रोप्न थालिएको हो । बेनी नगरपालिका ८ को सहयोगमा युवाहरुले बजारमा फुल रोप्ने अभियान सञ्चालन गरेका हुन ।

युवा सञ्जालमा आवद्ध भएका युवाहरुले वातावरणलाई सफा र स्वच्छ बनाउन फुल रोप्ने अभियान सञ्चालन गरेका छन् । उनीहरुले स्वयमसेवी रुपमा फुल रोप्ने काम गरेका छन् ।

विजुलीका पोलमा निलो रङ् लगाएर सफा पारिएको छ । जमिन देखि केही माथि पोलमा गमला छन् । गमलामा विभिन्न प्रजातीका दुइदुईवटा फुल रोपिएको छ । विरुवालाई हुर्कान युवाहरुले दैनिक रुपमा रेखदेख गर्दछन् ।

पानी राख्ने र गोडमेल गर्ने काम युवाहरुले गरेका छन् । बजारको सौन्दर्यता बढाउन फुल रोप्ने अभियान सञ्चालन गरेको युवा सञ्जालका पूर्व सचिव छबी आचार्यले बताउनुभयो । फुल रोप्ने कार्यलाई हामीले अभियानकै रुपमा बजारका अन्य गल्लीहरुमा विस्तार गर्ने योजना बनाएका छौं उहाँले भन्नुभयो । फुलका विरुवाहरु हुर्काउन चुनौती छ आचार्यले भन्नुभयो ‘समुदाय सँगको सहकार्यमा योजना अगाडी बढाउँछौं ।’ ‘हाम्रो अभियानप्रति जनप्रतिनिधिहरु पनि सकरात्मक हुनुहुन्छ । बजारलाई हराभरा बनाउने अभियान सफल बनाउँछौं – आचार्यले भन्नुभयो ।

पहिलो चरणमा वडा नम्बर ८ न्यूरोडकोको सिमाना देखि अस्पताल चोकसम्म ३८ वटा विजुलीका पोलमा ७६ वटा गमला राखिएको छ ।

गमलामा मौसम अनुसारका फुलहरु रोपिएका छन् । युवाहरुले केही सिर्जनात्मक काम गरौं भन्ने छलफल भयो उहाँले भन्नुभयो ‘विजुलीका पोलहरुमा गमला राखेर फुल रोप्न थाल्यौं ।’ युवाहरुको अभिायनलाई सफल बनाउन वडा नम्बर ८ ले गतवर्षको बजेटबाट ८१ हजार रुपियाँ सहयोग गरेको छ ।

हरियाली बेनी बनाउने हाम्रो अभियान हो वडा नम्बर ८ का वडा अध्यक्ष रामकृष्ण बराइलीले भन्नुभयो, ‘बजारको वातावरण सफा र स्वच्छ बनाउन युवाहरुको अभिायनलाई थप विस्तार गरी वडाको सवै क्षेत्रमा फुल रोप्ने काम गर्दछौं ।’ वडाले एक घर दुइ विरुवा रोप्ने अभियान पनि सञ्चालन गर्न लागेको उहाँले बताउनुभयो ।

प्रत्येक घरलाई एउटा गमला वडाले दिने र घरधनी आफैले फुल रोप्नुपर्ने उहाँले बताउनुभयो । वडाले कालिपुल स्थित बसपार्कलाई हरियाली बनाउन अशोका जातको विरुवा रोप्ने योजना अगाडी बढाएको उहाँको भनाई छ । यसले वातावरणलाई सफा र स्वच्छ बनाउन सहयोग पुग्ने अपेक्षा लिएका छौं उहाँले भन्नभुयो ।