मंगलाका चार युवाले सुरु गरे सामूहिक तरकारी खेती (भिडियोसहित)

ठाकुरप्रसाद आचार्य/बेनी
साउन ३२ गते ।

मंगला गाउँपालिका २ कोत्रबाङका चार युवाहरु मिलेर सामूहिक तरकारी खेती सुरु गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुले गाउँमा जग्गा भाडामा लिएर व्यवसायिक आर्गानिक तरकारी उत्पादन गर्न थालेका हुन । गाउँमा संभावना नदेखेर वैदेशिक रोजगारीमा जाने युवाहरुको लहर नै चलेका समयमा कोत्रवाङका युवाहरु वैदेशिक रोजगारीबाट फर्किएर सुरु गरेको व्यवसायले गाउँमा आशा जगाएको छ ।

गाउँका तेजेन्द्र आचार्य, दलबहादुर नेपाली,भविलाल सुवेदी र ओमबहादुर नेपाली मिलेर सात रोपनी जग्गा भाडामा लिईँ व्यवसायिक तरकारी खेती सुरु गरेका हुन । मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको जग्गा युवाहरुले वार्षीक ४२ हजार रुपियाँ तिर्ने गरी भाडामा लिएका छन् ।

youtube.com/watch?v=fxFcrs7poGM

 

गाउँपालिकाबाट तालिम पाएका युवाहरुले बावियाचौरमा कम्पोष्ट मल उद्योग पनि सञ्चालन गरेका छन् । उद्योगमा उत्पादन भएको मल तरकारी खेतीमा प्रयोग हुन्छ ।

७ वर्ष वैदेशिक रोजगारीमा विताएका युवाहरुले गाउँ फर्किएर मंगला प्राङगारिक मल उद्योग तथा प्राङ्गारिक तरकारी फार्म स्थापना गरेका हुन । विदेशको सीप,ज्ञान र प्रविधिलाई उपयोग गरेर तरकारी खेती सुरु गरेको तेजेन्द्र आचार्यले बताउनुभयो ।

 

गाउँमा संभावना देखाउन हामीले तरकारी खेती सुरु गरेका हौं तेजेन्द्रले भन्नुभयो ‘विदेशमा गर्ने परिश्रम गाउँमै गर्ने हो भने राम्रो आम्दानी गर्न सकिन्छ ।’ रासायनिक मल र विषादी प्रयोग नगरी तरकारी उत्पादनमा जोड दिएका छौं आचार्यले भन्नुभयो ‘हाम्रो मुख्य उद्देश्य नै अर्गानिक तरकारी उत्पादन गर्ने हो ।’  https://www.youtube.com/watch?v=fxFcrs7poGM&t=733s

युवाहरु विदेश जाने लहर चलेका समयमा विदेशबाट फर्किएर सामुहिक तरकारी खेती सुरु गरेपछि गाउँलेहरु दङ्ग परेका छन् । सुरुसुरुमा त गाउँलेहरुले विश्वास नै गरेका थिएनन् आचार्यले भन्नुभयो ‘खेतमा तरकारी फल्न थालेपछि उनीहरु चकित भएका छन् ।’

५ वटा टनेलमा टमाटरसंगै करेला, घिरौँला, भेण्टा, भेण्टी, खुर्सानी, बोडी, बन्दा, काउली लगायतका तरकारी उत्पादन गर्दै आएको कृषक आचार्यले बताउनुभयो । ‘मटरकोसा र काउली लगायतका तरकारी रोप्ने तयारीमा छाँै, बेमौसमी तरकारी उत्पादन गर्ने भएकाले बजारको समस्या छैन’–आचार्यले भन्नुभयो ।

आचार्य संगै फार्ममा तरकारी गोडमेलमा व्यस्त रहेका अर्का युवा ओमबहादुर नेपालीले पनि गाउँघरकै खेतबारीमा पसिना बगाउँदा आनन्द मिल्ने बताउनुभयो । विदेशबाट फर्किएको थिएँ नेपालीले भन्नुभयो ‘साथीहरुले मिलेर यही तरकारी खेती गरौं भन्नुभयो अनि म पनि मिसिएँ ।’

चारै जनाले दैनिक रुपमा तरकारी खेतीमा काम गरेको देखेर छिमेकीहरु दङ्ग हुने गरेका छन् । सुरुवातमा ४ लाख लगानी गरेका कृषकहरुले तरकारी खेतीलाई थप विस्तार गरि व्यावसायिक स्वरुपलाई बढाउने तयारीमा छन् । ‘तरकारी खेतीको अनुभव नभएपनि सिक्दै छौं ’ नेपालीले भन्नुभयो ।

उनीहरुले टमाटर प्रतिकिलो ७०, करेला ८०, खुर्सानी १३५ मा विक्रि गरिरहेका छन् । व्यावसायिक तरकारी खेतीमा गाउँपालिका र कृषि ज्ञान केन्द्र कार्यालयबाट टनेल लगायतका सामाग्रीमा सहयोग प्राप्त भएपछि उनीहरुमा थप हौँसला थपिएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रममा कृषि उत्पादनलाई जोड दिएको बताउँदै युवाहरुलाई कृषि

उत्पादनसँग जोड्ने नीति गाउँपालिकाको भएको उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो । विदेशबाट फर्किएर गाउँमा आर्गानिक तरकारी उत्पादन गर्न थालेका युवाहरुलाई हौसला दिन प्लाष्टिक र कृषि उपकारणहरु अनुदानमा उपलब्ध गराएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

कृषि पेशाप्रति युवाहरुलाई आकर्षीत गराउन गाउँपालिकाले कृषिको व्यवसायिकरण र आधुनिकिकरणमा जोड दिएको अध्यक्ष रोकाले बताउनुभयो । विदेशमा पुगेका युवाहरु गाउँ फर्किएर तरकारी खेती गर्न थालेपछि अन्य युवाहरुलाई पनि आशा जागेको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षमा मा कृषि र पशुपालन क्षेत्रमा ४८ लाख बजेट परिचालन गरेको मंगलाले चालु आर्थिक बर्षको लागि यस बर्ष ६२ लाख बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो । उहाँका अनुसार, प्रत्येक वडाबाट पालिकाले दिएको सिलिङमा करिब ५ लाखका दरले कृषि क्षेत्रको लागि थप बजेट विनियोजन भएको छ ।

यस बर्ष कृषकहरुलाई टनेल, थोपा सिँचाई, उन्नत जातका विरुवा र विउ, उपकरण लगायतका बस्तु तथा सामाग्री सहयोग गरिन अधिकृत गौतमले जानकारी दिनुभयो ।