ताजा समाचार:
Search

दिवङ्गत आफन्तको संझनामा बेनीमा गाईजात्रा (भिडियो सहित)

विकल्प न्यूज/बेनी
साउन ३१ गते ।        सदरमुकाम बेनीका नेवार समुदायले दिवङ्गत आफन्तको सम्झनामा बेनीबजारमा गाइजात्रा मनाएका छन् । नेपाल भाषा मंका खलको आयोजनामा सामूहिक रुपमा गाइजा मनाइएको हो ।

दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको जैनै पूर्णिमाको भोलीपल्ट गाईजात्रा निकाल्ने गरिन्छ । नागानागीनी गीत सहित गाई, कुमारी कन्या र प्रतिकात्मक रुपमा गाई निर्माण गरी टोलटोलमा घुमाएर मृतकका घरमा भित्राउने प्रचलन छ ।

बेनीमा नेवार समुदायका वासोवास भएदेखि नै गाईजात्रा निकाल्ने प्रचलन भएको भाषा मंकाखलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

हिन्दू धर्मग्रन्थ पुराणहरुमा उल्लेख भएअनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मत्र्यलोक अर्थात पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने तथा मृतआत्माले यमलोक प्रवेश पाई मुक्ति पाउने भनाई रहेको छ ।

पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु” भनी आज्ञा दिएपछि गाईजात्रा शुरु भएको मान्यता छ । घरघरबाट गाईजात्रा निकाले पछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरुप सो प्रचलन चलेको हो भन्ने जनविश्वास छ ।