नेकपा (विप्लव) का म्याग्दी इन्चार्ज र सेक्रेटरी कारागार चलान (भिडियो सहित)

विकल्प न्यूज/बेनी
साउन २९ गते ।  सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी(विप्लव) का म्याग्दी इन्चार्ज र सेक्रेटरीलाई कारागार चलान गरिएको छ । उनीहरु विरुद्ध प्रहरीले दर्ता गरेको राज्य विरुद्धको कसुर मुद्दाको सुनुवाई गर्दै अदालतले कारागार चलान गर्न आदेश दिएको हो ।

 

बुधबार जिल्ला अदालत म्याग्दीमा भएको थुनछेकको बहश पछि धरौटी वापतको रकम भुक्तानी गर्न अस्विकार गरेपछि इन्चार्ज बाबुलाल शाक्य र सेक्रेटरी कमानशिंह क्षेत्री (विकिरण)लाई कारागार पठाइएको अदालतले जनाएको छ ।

थुनछेकको बहश पछि जिल्ला न्यायाधिश माधवेन्द्र राज रेग्मीले मुलुकी फौजदारी कार्यविधि सहिंता २०७४ को दफा ६८ को १ बमोजिम धरौटी रकम लिई तारेखमा छाड्न आदेश दिनुभएको थियो । 

साथै जिल्ला अदालत बागलुङबाट पनि उस्तै प्रकृतिको राज्य विरुद्धको मुद्धा दर्ता भई पक्राउ पुर्जी जारी भएकाले निजलाई बागलुङ लैजानु भनि आदेशमा उल्लेख छ ।

प्रतिवादी शाक्य र क्षेत्रले नियतबश फसाउन खोजिएकाले आफूहरुले धरौटी रकम नदिने बरु कारगार जाने बताएपछि उनीहरुलाई कारागार पठाइएको हो ।

बागलुङ नगरपालिका–३ का ४८ वर्षीय शाक्य र सानीभेरी गाउँपालिका–२ रुकुमका ४२ वर्षीय क्षेत्रीलाई प्रहरीले साउन ६ गते बेनी नगरपालिका–३ नयाँपुलबाट ध १ प २१७० न को यामाहा मोटरसाईकल सहित पक्राउ गरेको थियो । क्षेत्री र शाक्यको पक्षमा सात जना वकिलहरुले बहस गरेका थिए ।