यस्ता हुन्छन् स्तन क्यान्सरका लक्षणहरु

-पुजा लामा- स्तन क्यान्सरको सुरुको अवस्थामा कुनै पनि लक्षण देखा पर्दैनन्। सामान्यतया दुख्न पनि दुख्दैन। विभिन्न जाँचहरुबाट मात्रै यस अवस्थाको क्यान्सर पत्ता लाग्दछ। हाम्रो समाजमा केही समस्या नभई स्वास्थ्य परीक्षण गराउने चलन छैन। जब क्यान्सर बढ्न थाल्छ, यसले स्तनमा परिवर्तन ल्याउँछ जसलाई एउटी महिलाले थाहा पाउन सक्नेछिन्। स्तन अथवा काखीमा प्रायः नदुख्ने साह्रो गाँठो हुनु स्तन क्यान्सरको मुख्य लक्षण हो। अन्य लक्षणहरुमा स्तनमा निको नहुने घाउ, दुधको मुन्टोवाट असामान्य चिज बग्नु, स्तनमा दुख्ने गाँठो तथा दुधको मुन्टोमा परिवर्तन आउनु अथवा कहिलेकाहीं झरेर जानु आदि।

स्तन क्यान्सरको अवस्था कसरी पत्ता लगाउने ?

सायद अज्ञानताका कारणले गर्दा होला नेपाली महिलाले स्तनमा हुने गरेका साधारण खालको समस्या कमैलाई भन्न चाहन्छन्। पुरुष चिकित्सक कहाँ जँचाउन जाँदैनन्। जब स्तन क्यान्सर बढेर थाहा पाइने हुन्छ, तब अवस्था नराम्रो भइसकेको हुन्छ। स्तन क्यान्सर शरीरका अन्य भागमा सरिसकेको अवस्थामा रोग निको पार्न गाह्रो हुन्छ। त्यसैले सुरुको अवस्थामा थाहा हुने हो भने स्तन क्यान्सर निको पार्न सकिन्छ।

विकसित देशहरुमा भने प्रायजसो बिरामी सुरुको अवस्थामा चिकित्सककहाँ पुग्छन् जसले गर्दा क्यान्सर निको पार्न सकिन्छ। यसका मुख्य कारण भनेको क्यान्सर जनचेतनालाई लिन सकिन्छ। अन्य कारणहरुमा विकसित देशमा गरिने भरपर्दो स्तन क्यान्सर समुहगत परिक्षण पनि हो। यस विधिद्वारा स्तन क्यान्सर प्रारम्भिक अवस्थामा पत्ता लगाउन सकिन्छ ।

स्तन क्यान्सरको उपचार कसरी गरिन्छ ?

स्तन क्यान्सरको निदानको लागि तिन किसिमका जाँचहरु जस्तै चिकित्सकद्वारा जाँच, भिडियो एक्सरे अथवा स्तनको विशेष एक्सरे तथा स्तनको ट्युमरबाट निकालिएको कोष तथा तन्तुको जाँच गर्नु पर्दछ। प्रायजसो बिरामीमा यी तीनवटा जाँचबाट क्यान्सरको निदान हुन्छ। निदानपछि स्तन क्यान्सरको अवस्था पत्ता लगाउनु पर्दछ। स्तन क्यान्सरको अवस्था ट्युमरको नाप र कहाँसम्म फैलिएको, ग्रन्थीहरुमा सरेको छ कि छैन, तथा अन्य अंगहरुमा सरेको छ कि छैन भनेर जाँच गर्नु पर्दछ।

स्तन क्यान्सरका उपचार विधिहरु यस रोगको अवस्थामा भर पर्दछ। एकदमै सुरुको अवस्थामा छ भने शल्यक्रिया गरी निकालिदिए पुग्छ। केमोथेरापी र रेडियोथेरापी गरिराख्नु पर्दैन। ट्युमरको हर्मोन रिसेपटर हेरेर हर्मोन थेरापी पनि गर्न सकिन्छ । यस्तो समस्या भएमा बेलैमा उपचार गराउनु होला ।