मंगला र रघुगंगामा सुत्र प्रणालीबाट वित्तिय कारोबार सुरु

विकल्प न्यूज/बेनी
साउन २९ गते ।
म्याग्दीको मंगला र रघुगंगा गाउँपालिकाले जिल्लामा पहिलोपटक स्थानीय तह संचित कोष व्यवस्थापन (सुत्र) प्रणालीबाट वित्तिय कारोबार गर्न थालेका छन् । स्थानीय तहमा वित्तिय अनुशासन कायम गर्न सुत्र प्रणाली लागू गरिएको हो ।
चालु आर्थिक वर्ष देखि महालेखा नियन्त्रक कार्यालयले सबै स्थानीय तहमा सुत्र प्रणाली लागू गर्न परिपत्र गरेअनुसार जिल्लाका स्थानीय तहहरुले सुत्र प्रणाली लागू गर्नुपर्ने कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख चन्द्रशेखर सापकोटाले बताउनुभयो ।
स्थानीय तहमा अनिवार्य रुपमा सुत्र लागू गर्ने परिपत्र अनुसार मंगला र रघुगंगामा सुत्र लागू गरिएको रघुगंगाका लेखापाल लेखनाथ अधिकारीले बताउनुभयो । सुत्रबाट कारोवार गर्दा वित्तिय अनुशासन कायम हुने उहाँले बताउनुभयो । सुत्रमार्फत गर्दा वित्तिय अनुशासनदेखि हरेक कारोबार पारदर्शी र स्पष्ट हुने उहाँले बताउनुभयो ।

सुत्र प्रणाली लागू गर्न स्थानीय तहका लेखापाल,प्रमुख प्रशासकीय अधिकृत र योजना शाखाका कर्मचारीहरुलाई तालिम प्रदान गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका प्रमुख सापकोटाले बताउनुभयो । गत आर्थिक वर्षको सवै कारोबार मिलाइसकेपछि साउन महिना भित्रै जिल्लाका सवै स्थानीय तहले सुत्र प्रणाली अनिबार्य रुपमा लागू गर्नुपर्ने कोष प्रमुख सापकोटाले बताउनुभयो । अहिले भइरहेको पालिकाको वित्तिय कारोबार भन्दा सुत्रमार्फत काम गर्दा बढी विश्वशनीय र पारदर्शी हुने रघुगंगाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । इन्टरनेटको समस्या र दक्षजनशक्तिको अभावका कारण सुत्र प्रणाली लागू गर्न कठिनाई हुने उहाँले बताउनुभयो ।

हालको काम एक प्रकारले झन्झटिलो र निर्णयका आधारमा पनि कतिपय कामहरु गर्नु पर्ने भएको कारण अब लेखालाई पनि अनुशासनमा राख्न यसले मद्दत पुग्ने छ । उहाँका अनुसार सुत्र लागू भएपछि रकमान्तर गर्न र बजेट टुक्राउन पाइने छैन ।
गाउँपालिकामा राजस्व लगाएत सबै प्राप्त हुने श्रोतको अनुमान, योजना तथा तलब तथा अन्य शिर्षकमा गरिने खर्च, योजना छनौट, चेक काट्ने, महालेखाले निर्धारण गरे अनुसार लेखाका प्रतिवेदन तयारीमा यो सुत्र प्रर्णाली गाउँपालिकाका लागि निक्कै उपयोगी हुने रघुगंगाका लेखापाल अधिकारीले बताउनुभयो ।

सुरुमा बजेट तथा कार्यक्रम सुत्र प्रर्णालीमा इन्ट्रि गर्न केही कठिन भए पनि कारोबार गर्न सहज हुने लेखापाल अधिकारीको भनाई छ ।