ताजा समाचार:
Search

अर्मनको कुरसिम्लामा सामुदायिक भवन निर्माण

विकल्प न्यूज/बेनी
साउन २९ गते ।
मंगला गाउँपालिकाको ५ नम्बर वडा अर्मनको कुरसिम्लामा एकिकृत भवन निर्माण गरिएको छ । वडाको सिफारिसमा गाउँपालिकाको गत आर्थिक वर्षमा विनियोजित बजेटबाट एकिकृत भवन निर्माण गरिएको हो ।

आर्थिक वर्ष २०७५ /०७६ मा गाउँपालिकाबाट विनियोजित चार लाख र जनश्रमदान एकलाख गरी पाँचलाख रुपैयामा भवन निर्माण गरिएको उपभोक्ता समितिको अध्यक्ष मनमाया क्षेत्रीले बताउनुभयो । भवन निर्माण पछि गाउँमा आमा समुहको वैठक तथा कार्यक्रम गर्न सहज भएको समितिको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

भवनमा एउटा सभाहल र आमा समुहका सामाग्रीहरु राख्ने कोठा निर्माण गरिएको छ । भवन निर्माण पछि आमा समुहको वैठक,कार्यालय सञ्चालन र सामाग्री राख्न सहज भएको सृष्टी आमा समुहकी अध्यक्ष मिना खत्रीले बताउनुभयो ।

भवन अभावमा वैठक तथा कार्यक्रम गर्न असहज भएको थियो आमा समुहको अध्यक्ष खत्रीले भन्नुभयो ‘गाउँमा हुने साना साना कार्यक्रम र वैठक वस्न सहज भएको छ ।’ भवन निर्माण पछि तिनसय ४० घर परिबार लाभान्वित भएको उहाँले बताउनुभयो ।

आमा समुहलाई वैठक तथा कार्यक्रमहरु गर्न समस्या भएपछि वडाको सिफारिसमा गाउँपालिकाबाट विनियोजित बजेटबाट भवन निर्माण गरिएको वडा अध्यक्ष भुपेन्द्र खत्रीले बताउनुभयो । भवन बनाउन महिलाकै नेतृत्वमा उपभोक्ता समिति गठन गरिएको र समितिले समयमै योजना सम्पन्न गरेको उहाँले बताउनुभयो ।