जनै पूर्णिमाका दिन खयरबराहमा धार्मिक मेला

विकल्प न्यूज/बेनी
साउन २९ गते । खयरबराह ताल र तालको छेवैमा रहेको खयरभारानी देबीको मन्दिर । फाइल तस्विर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ स्थित खयरबराहमा लाग्ने धार्मिक मेलाको तयारी थालिएको छ । साउन ३० गते जनैपूर्णिमाका दिन लाग्ने धार्मिक मेलालाई व्यवस्थित बनाउन खयरभारानी संरक्षण समिति र स्थानीयवासीहरु तयारीमा जुटेका हुन । भक्तजनहरुलाई खान र बस्नको सुविधा मिलाउन र पदमार्ग सरसफाईमा स्थानीयवासीहरु जुटेको खयरभारानी संरक्षण समितिका कार्यबाहक अध्यक्ष बलबहादुर पुनले बताउनुभयो ।

अन्नपूर्णको फेदीमा रहेको खयर क्षेत्र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । खोप्रालेक र खयरबराह ताल पर्यटकीय हिसाबले महत्वपूर्ण छ । स्वर्गको टुक्रा जस्तै छ खोप्रा र खयरबराह । ताल छेवैमा खयरभारानीको मन्दिर छ । यहाँ जनैपूर्णिमाका दिन ठूलो धार्मिक मेला लाग्ने गर्दछ । यो चार हजार छ सय ६० मिटरको उचाईमा पर्दछ ।

जनैपूर्णिमाका दिन लाग्ने धार्मिक मेलाको तयारीका लागि यतिखेर पाउद्धारवासीहरु जुटेका छन् । खयरभारानीको पुजा र दर्शन गर्न आउने भक्तजनहरुका लागि विचबाटोमा बस्ने र खाने व्यवस्था मिलाउन स्थानीयहरु सक्रृय छन् ।

खयरबाराही तालमा पुगी भेडाको साँढको वली दिने प्रचलन छ । मनोकांक्षा पुरा गर्न ‘भाकल’ गर्दै खयरभारानी देबीको पुजा र दर्शन गर्ने गरिन्छ । जनैपूर्णिमाका दिन सयौं भक्तजनहरु यहाँ आउने गर्दछन् । खयरभारानी संरक्षण समितिले भक्तजनको खान र बस्ने सुविधाका लागि विचबाटोमा गोठ र प्लाष्टिक टनेल बनाएको छ । भेडी गोठलाहरुले पनि भक्तजनहरु बासबस्ने व्यवस्था मिलाएका छन् । खोप्राबाट खयर जाने भक्तजनहरुलाई असुविधा नहोस भनेर विच बाटोमा खाने र बस्ने व्यवस्था मिलाइएको खयरभारानी संरक्षण समितिका कार्यबाहक अध्यक्ष पुनले बताउनुभयो ।

‘हिमालको फेदीको तिर्थस्थल भएकाले हत्तपत्त जो कोही पुग्न सजिलो छैन । लेक लाग्ने, विष लाग्ने र हिँड्न गाह्रो छ । त्यसैले बास बस्न प्लास्टिक टनेल, भोजन तथा औषधि उपचार व्यवस्था गरेका छौं,’ संरक्षण समितिका काबा अध्यक्ष पुनले भन्नुभयो ।

                                            कसरी पुग्ने खयरबराह

खयरबाराहीको ताल पुग्न सबैभन्दा नजिकको वस्ती पाउद्वारबाट तीन दिन लाग्छ । बाटोमा खाना र बस्नकोलागि गोठहरु पाइन्छन । भक्तजनहरुले आफ्नो ओढ्ने र ओछ्याउने भने आफैं ब्यवस्था गर्नुपर्छ । सुविधाकालागि टेन्ट बोक्नु राम्रो हुन्छ । खयरबाराही ताल पुग्न सदरमुकाम बेनीबाट दुई घन्टा बसमा पोखरेबगर पुगेपछि डेढ घन्टा जिपको यात्राबाट पाउद्वारमा पुग्न सकिन्छ । पाउद्धारमा बास बस्नका लागि प्रयाप्त होटल नभएपनि लागि समस्या छैन ।  पाउद्धारवासीहरुले भक्तजनहरुलाई न्यानो स्वागत गर्दछन् । भोली पल्ट पाउद्धारवासीहरुले चन्दसहयोग जुटाएर बनाएको नमुना पदमार्गको ६ घण्टाको यात्रापछि खोप्रालेक पुग्न सकिन्छ । विचबाटोमा चिया र नास्ता खानका लागि टि हाउसहरु सञ्चालित छन् । स्थानीयवासीहरुले धार्मिक मेलालाई लक्षित गरी यसपटक विचबाटोमा चिया र खाजाको निशुल्क व्यवस्था गरेका छन् ।

तिनहजार छ सय मिटर अग्लो खोप्रालेक पुगेपछि खान र बस्नका लागि सामुदायिक लज छ । तर धेरै भक्तजनहरु राख्न सक्ने क्षमता भने छैन । भक्तजनहरुको सुविधाका लागि यहाँ स्थानीयहरुले तिनवटा प्लास्टिक घर बनाएका छन् । खोप्रामा बास वस्न भक्तजनहरुलाई कुनै समस्या नहुँने सामुदायिक लजका प्रबन्धक नवीन पुनले बताउनुभयो । हामीले प्रयाप्त मात्रामा बस्ने व्यवस्था मिलाएका छौं उहाँले भन्नुभयो ।

खोप्राबाट विहानै हिड्ने भक्तजनहरु पाँचघण्टाको यात्रा पछि खयरबराह पुग्न सक्छन् । धेरै उचाईमा भएकाले आरमका साथ जाँदा राम्रो हुन्छ । खयरवराह संरक्षण समितिले नौलोवन तथा खयरखोलामा भक्तालुहरु बस्नकालागि प्लास्टिक टनेल र विचविचमा चिया, खाजा तथा पानीको ब्यवस्था गरेको सामुदायिक लजका प्रबन्धक पुनले बताउनुभयो ।

खोप्राबाट हिडेका भक्तजनहरु नौलोवन वा खयरखोलामा बास बस्छन् । यहाँ भने समुदायले निर्माण गरेको प्लाष्टिक घर वा भेडा गोठमा रात विताउनु पर्छ । भक्तजनहरुले ओढ्ने र ओछ्याउने भने आफैंं व्यवस्था गर्नु पर्छ । राति तीनबजेदेखी यात्रा गरी बिहान ६ बजे खयरबाराही ताल पुग्न सकिन्छ । पुजासकेपछि ओरालो बाटो भएकोले खोप्रा वा पाउद्वारमा नै ओर्लन सकिन्छ ।

खयरबराह ताल धार्मिक महत्वको मात्र होइन पर्यटकीय दृष्टीकोणले पनि महत्वपूर्ण छ । रंगीविरंगी फूलहरुको गलैंचामा टेक्दै खोप्रादेखी खयरबाराही ताल पुग्दा गोर्सेबाराही ताल, कालीबाराही ताल, कामधेनु गाईको पाईला (फाल)को दर्शन गर्न सकिन्छ । विभिन्न प्रजातिका रंगिन फूलहरुको बगैंचामा हिँड्दा ‘भूस्वर्ग’ पुगेको अनुभुत हुन्छ । धौलागिरी हिमश्रृंखला र अन्नपूर्ण प्रथम, साउथ तथा बराहशिखर हिमाललाई झन नजिकैबाट अवलोकन गर्दा यात्रुहरुलाई यात्राको थकान बिर्साउँछ । यहाँबाट सूर्यास्तको दृष्यबढी मनमोहक हुन्छ ।

खयरबाराही जाने बाटोमा पर्ने खोप्रालेक हिमशृङखला, सुर्योदय र पहाडी भुगोलको मनमोहक दृष्य अवलोकनका लागि पर्यटकीय गन्तब्य बनेको छ । समुन्द्रि सतहदेखि तिन हजार ६०० मिटरको उचाईमा रहेको खोप्राबाट धौलागिरी, निलगिरी, अन्नपूर्ण लगायतका हिमशृङखलाको अवलोकन गर्न सकिन्छ । भेडा र चौरीपालन पनि खोप्रा पुग्ने पर्यटकका लागि आकर्षण हो ।