ताजा समाचार:
Search

मंगलाले थाल्यो हरित सडक निर्माण अभियान

विकल्प न्यूज/बेनी
साउन २८ गते । यहाँको एक स्थानीय तहले ग्रामिण सडकलाई हरित सडक बनाउने अभियान थालनी गरेको छ । मंगला गाउँपालिकाले ग्रामिण सडकहरुलाई हरित सडक बनाउन वृक्षारोपण गर्न थालेको हो ।

सडकलाई वातावरण मैत्री, दिगो,व्यवस्थित र हराभरा बनाउन हरित सडक निर्माणको अभियान सुरु गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका केन्द्र बावियाचौर देखि प्रत्येक वडातह सम्म सडक सञ्जाल पु¥याएको गाउँपालिकाले सडकका दुवै किनारामा विभिन्न प्रजातीका विरुवाहरु बृक्षारोपण गर्न थालेको छ । समुदाय सँगको सहकार्यमा ग्रामिण सडकहरुमा करिब ८ हजार भन्दा वढी विभिन्न प्रजातीका विरुवा रोपण गरिसकेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

उहाँका अनुसार गत आर्थिक वर्षमा तोराखेत देखि सल्यान हुँदै हिदी जाने सडकमा पाँचसय कल्कीका विरुवा रोपण गरिएको छ । लाम्पाटा – लहरेनी सडक किनारामा चारसय,पोक– सातविशे,ज्यामिरे हुँदै ३ नम्बर वडा कार्यालय जोड्ने सडकमा कल्की र अम्रिसो रोपण गरिएको छ । यसै गरी तोराखेत देखि सिमकुना सातविशे सडक छेउछाउँमा पनि विभिन्न प्रजातीका विरुवा रोपण गरिएको छ ।

सडक किनारामा विरुवा रोपणले भू–क्षयको रोकथाम, वातावरण शुद्धता र सडक सौन्दर्यता देखिने भएकाले हरित सडक निर्माण अभिायनको थालनी गरिएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो ।

हरित सडक निर्माण अभियान गत वर्ष देखि सुरु गरेका हौं अध्यक्ष रोकाले भन्नुभयो ‘ यसले सडकलाई दिगो र वातावरण मैत्री बनाउन सहयोग पुग्छ ।

गाउँपालिका भित्र रहेका सवै सडकहरुलाई हरित सडकका रुपमा विकास गर्ने लक्ष्य लिएका छौं ।’ अम्रिसो घास र कुचो बनाउन प्रयोग हुन्छ भने कल्की फुलले वातावरण शुद्धता कायम गर्न सहयोग पुग्नुका साथै मौरीका लागि उत्तम हुन्छ ।

रातो आकर्षक फूल फुल्न कल्की प्रजातीको छ हजार विरुवा विभिन्न सडकहरुमा रोपण गरिएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो ।

यसको फूलमा पाइने रस माहुरीले मह बनाउन प्रयोग गर्छ । सडकका किनाराहरुमा फुल फुल्ने विरुवा रोपणले सडकको सौन्दर्यता बढाउनुका साथै स्वच्छ वातावरण कायम राख्न टेवा मिल्ने गाउँपालिका अध्यक्ष रोकाले विश्वास व्यक्त गर्नुभयो ।

सफा र स्वच्छ सडकका रुपमा विकास गर्दै हरियाली प्रर्वद्धन र सडकलाई विभिन्न फुलहरुले हराभरा बनाई पर्यटक आकर्षीत गर्ने योजना गाउँपालिकाको लिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो ।