ताजा समाचार:
Search

यातायात व्यवसायीको बदमासी – नगरपालिकालाई तिर्दैनन् भाडा

विकल्प न्यूज/बेनी
साउन २३ गते ।  
बेनी नगरपालिका सँग सम्झौत गरी सार्वजनिक जग्गामा बस र जिपका टिकट बुकिङ काउन्टर राखेका यातायात व्यवसायीहरुले लामो समयसम्म भाडाबापतको रकम भुक्तानी गरेका छैनन् । जिल्ला भित्र र बाहिर सञ्चालन हुने यातायात संस्थाहरुले सार्वजनिक जग्गामा टिकट काउन्टर राखे वापत नगरपालिकालाई बुझाउनु पर्ने लाखौं रकम नबुझाएका हुन । रकम बुझाउन पटक पटकको ताकेता गर्दा पनि विभिन्न बहाना गरेर रकम भुक्तानी गर्न अटेरी गरेका छन् ।
प्रतिकाउन्टर मासिक पाँचहजार रुपैयाँ भाडा तिर्ने सम्झौता गरेका १० वटा यातायात व्यवसायीहरुले नगरपालिकालाई २०७३ साउन देखि हाल सम्मको १४ लाख १५ हजार रुपैयाँ बुझाउन बाँकी छ । प्रत्येक वर्ष भाडामा १० प्रतिशत वृद्धि हुने सम्झौता उल्लेख छ । नगरपालिकाले पटक पटक ताकेता गर्दा पनि यातायात व्यवसायीहरुले बाँकी बक्यौता रकम तिर्न अटेरी गरेका छन् । सडक मिचेर काउन्टर राखेका व्यवसायीहरुले भाडा नतिर्नु लाजमर्दो भएको सर्वसाधारणहरु बताउँछन् ।
दैनिक रुपमा लाखौंको कारोवार गर्ने व्यवसायीहरुले नगरपालिकालाई तिर्नुपर्ने रकम आलटाल गर्नुलाई यातायात व्यवसायीहरुको बदमासी भएको एक जनप्रतिनिधिले नाम नछाप्ने सर्तमा बताउनुभयो । डर,धम्की र केही जनप्रतिनिधिलाई आर्थिक प्रलोभन देखाएर बलजफ्ती काउन्टर राखिएको छ ति जनप्रतिनिधिले भन्नुभयो ‘ पैसा नतिर्ने काउन्टरलाई नगरपालिकाले डोजर लगाएर हटाउनुपर्दछ । तर जनप्रतिनिधिकै केही आफन्तहरु नै यातायात व्यवसायीमा संलग्न भएकाले अफ्ठायारो भएको छ ।’
धौलागिरि अंचल यातायात बस व्यवसायी सञ्चालक समितिले नगरपालिकालाई सवै भन्दा बढी रकम बुझाउन बाँकी छ । तिन स्थानमा सडक मिचेर काउन्टर राखेको धौलागिरिले ४ लाख ८० हजार रुपैयाँ बुझाउन बाँकी छ । पटक पटक रकम भुक्तानी गर्न ताकेता गर्दा पनि यातायात व्यवसायीले अटेरी गरेको नगरपालिकाकी सहलेखापाल निर्मला शर्माले बताउनुभयो ।
सार्जजनिक जग्गामा सम्झौता नगरी बलजफ्ती दुइस्थानमा टिकट काउन्टर राखेको म्याग्दी जिप तथा बस सञ्चालक समितिले पनि २०७३ साउन देखि २०७६ असार मसान्त सम्मको ३ लाख ८० हजार रुपैयाँ बुझाउन बाँकी छ । हाइप्रोफाइल यातायात व्यवसायीहरु संलग्न संस्थाले नै नगरपालिकालाई समयमा भाडा भुक्तानी गरेको छैन ।

रकम भुक्तानी नगर्ने यातायात व्यवसायी समिति
संयुक्त यातायात ः १०५०००।–
बागलुङ भगवती यातायात ः ६०,०००।–
धौलागिरि अंचल बस व्यवसायी समिति ः ४,८०,००० –
पोखरा बागलुङ ट्याक्सी इकाई समिति कालिपुल ः ६०,०००।–
म्याग्दी जिप तथा बस सञ्चालक समिति ः ३,८००००।–
युरो/मध्यामाञ्चल डिलक्स ः १४०,०००।–
पोखरा बागलुङ् बेनी ट्याक्सी इकाई समिति बेनपा ७ ः १९०,०००।–

कालिपुलमा टिकट काउन्टर राख्न २०७२ पौष २३ गते सम्झौता गरेको युरो डिलक्स/मध्यामाञ्चलले २०७३ फागुन देखि हाल सम्मको एकलाख चालिस हजार रुपैयाँ तिरेको छैन । यसै गरी बसपार्कमा काउन्टर राखेको पोखरा बागलुङ बेनी ट्याक्सी इकाई समितिले ६० हजार रुपैयाँ तिर्न बाँकी छ । यही संस्थाले सझौता नगरी वडा नम्बर ७ जिपपार्कमा राखेको काउन्टरको एकलाख ९० हजार रुपैयाँ भुक्तानी गरेको छैन ।

विना अनुमति सार्वजनिक जग्गामा टिकट काउन्टर राखेको ट्याक्सी इकाईले २०७४ साउन देखि हाल सम्मको एकलाख ९० हजार रुपैया भुक्तानी गरेको छैन । बसपार्क स्थित कालीपुलमा काउन्टर राखेको संयक्त यातयातले दुइ वर्षको एकलाख पाँचहजार रुपैयाँ तिर्न बाँकी छ ।

टिकट काउन्टर राख्न दिएको सम्झौता अवधि गत असार मसान्तमा सकिएको छ । म्याग्दी ट्याक्सी इकाई समितिले भने भाडा वापतको रकम नगरपालिकालाई बुझाएको छ ।

सम्झौता नविकरण गर्दा जसरी पनि भुक्तानी गर्नुपर्दछ नगरपालिकाका प्रवक्ता एवम् ८ नम्बर वडा अध्यक्ष रामकृष्ण बराइलीले भन्नुभयो ‘साउन महिना भित्र बाँकी बक्यौता रकम भुक्तानी नगर्ने काउन्टरमा ताला लगाई बन्द गराइन्छ ।’ बसपार्कमा अव्यवस्थित रुपमा रहेका काउन्टरहरुलाई व्यवस्थित गर्ने योजना अघि बढेको उहाँले बताउनुभयो ।

यता धौलागिरि अंचल यातायात बस व्यवसायी सञ्चालक समितिका कोषाध्यक्ष उमाकान्त शर्माले विविध कारणले ढिाल भएको बताउँदै चाँढै नै रकम भुक्तानी गर्ने बताउनुभयो ।

बक्यौता रकम उठाउन नगरपालिका प्रशासनलाई निर्देशन दिएपनि कार्यान्वनय आउन नसकेको मेयर हरिकुमार श्रेष्ठले बताउनुभयो । रकम भुक्तानी नगर्ने यातायात व्यवासयीहरुलाई सेवा रोक्का गरेर भएपनि बाँकी रकम अशुल गर्ने नगरपालिकाको योजना रहेको मेयर श्रेष्ठले बताउनुभयो ।