हल्लेगौडा जिप दुर्घटना अपडेट ः उपचारका क्रममा एकको मृत्यु

विकल्प न्यूज/बेनी
साउन २२ गते । बेनी नगरपालिका–३ हल्लेगौडामा बुधबार दिउँसो भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । बेनी देखि भकिम्लीतर्फ जाँदै गरेको ग १ ज ७०५६ न। को जिप दुर्घटनामा गम्भिर घाइते भएका बेनपा–३ का ५५ बर्षिय रत्नबहादुर खत्रीको उपचारको क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते भएका खत्रीको उपचारको क्रममा मृत्यु भएको र साँझ सम्म ६ जनालाई थप उपचारको लागि पोखरा रिफर गरिएको बेनी अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, ७१ वर्षीय डम्मरबहादुर छन्त्याल, आईतराम विक र विक्रम सुनारलाई थप उपचारको लागि पोखरा पठाईएको छ । दुर्घटनामा परेर घाईते भएका बेनी नगरपालिका–७ मंगलाघाटका २५ वर्षीय विशाल शाक्य, उनकी पत्नी शान्ता शाक्य र छोरी साईरा शाक्य समेत थप उपचारको लागि पोखरा रिफर भएका छन् ।

चालक याम बहादुर श्रीसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उकालो र साँघुरो बाटोमा जिप ब्याग भएर खसेको जिल्ला प्रहरीले जनाएको छ । गाडी सडकदेखि २५ मिटर तल खेतमा छ । प्रहरी र स्थानीयबासीहरुले घाइतेलाई उद्दार गरेर बेनी अस्पताल ल्याएका थिए ।