नियमनकारी निकाय मौन बस्दा बेथिति बढ्यो (सम्पादकीय)

विकल्प न्यूज/बेनी
साउन २२ गते ।
नेपालको संविधानले स्थानीय तहलाई बलियो सरकारका रुपमा परिकल्पना गरेको छ । आफ्नो क्षेत्रभित्र सुव्यववस्था कायम राख्ने प्रमुख दायित्व स्थानीय सरकारको हो । निर्वाचित स्थानीय तहका जनप्रतिनिधि संवैधानिक अधिकारसहित सरकारका रूपमा आएका हुन । स्थानीय सरकारलाई व्यवस्थापिका,कार्यपालिका र न्यायपालिकाको समेत काम गर्ने अधिकार छ । स्थानीय सरकार सञ्चालन र आफ्नो भुगोल भित्र सुव्यवस्था कायम राख्न आवश्यकता अनुसार आफ्ना कानुन र नियम बनाउन सक्छ । जनताले घरदैलोको सरकारको अनुभूति दिनेगरी भौतिक,सामाजिक,आर्थिक र सांस्कृति विकासको काम स्थानीय सरकारको दायित्व हो । साथै समाजमा रहेका विकृति र विसंगति,असमानता र विभेदको अन्त्य गर्दै सामाजिक न्याय,मानविय मर्यादा र सम्मानित समाज निर्माणमा महत्वपूर्ण भूमिका स्थानीय सरकारको हुन्छ । तर स्थानीय सरकार नै निरही र लाचार भयो भने सवै क्षेत्रतिर बेथिति मौलाउदै जान्छ । यसको पछिल्लो उदाहरण बेनी नगरपालिकामा देखिएको छ । नगरपालिका लाचार र निरही हुँदा बेथिति मौलाएको छ ।

बेनी नगरपालिका कमजोर र लाचार हुँदा नगरभित्र बेथिति मौलाउँदो छ । शिक्षा,स्वास्थ्य र सडकमा बेथिति मौलाउँदो छ । नियमनकारी निकायनै निकम्मा भएको छ । नगरपालिकाले नै सडक मापदण्डलाई कार्यान्वयन गर्दैन । आफैले सडक मापदण्ड कार्यान्वयन नगरेपछि नियमलाई कार्यन्वयन गर्न उससँग नैतिकता रहदैन । त्यसैले बेथितिलाई नियन्त्रण गर्न नगरपालिकाले ध्यान दिँदैन । नगरपालिकाले सडकनै मिचेर व्यवसायिक टहरा,पेट्रोलपम्प राख्न अनुमति दिएको छ । फुटपाथ नै मिचेर नगरपालिकाले व्यवसायिक टहरा र ठेलागाडी राखेको छ । खाली स्थान देख्ने वित्तिकै नगरपालिकाले टहरा बनाइहाल्ने प्रवित्तिले सडकमा समस्या तिम्ताएको छ । भने अर्को तिर सडकको सुन्दरता नै गुमेको छ । जनप्रतिनिधिहरु आएपछि आशा गरिए अनुसार काम हुननसकेको गुनासो नगरवासीहरुले गर्न थालेका छन् । समुन्नत नगर निर्माणमा आफ्ना सिर्जनशीलता र रचनात्मकता पर्याप्त उपयोग गर्न पाउने अधिकार स्थानीय तहसँग हुँदा हुँदै नगरपालिका पछाडी परेको छ ।

बेनीमा साघुरा सडकहरु छन् । सडकको दुवै तर्फ भएका खाली जमिन पैसाको लोभमा भर्दै जाने हो भने भोली ठूलो समस्या नआउला भन्न सकिँदैन । बेनीमा दिनहुँजसो सवारीसाधन बढका छन् । बजार भित्र ट्राफिक जाम हुनथालीसकेको छ । सवारी पार्किङको समस्या छ । सडक छेवैमा रहेका खाली जमिनलाई सवारी पार्किङको रुपमा प्रयोग गर्ने र अन्य खाली जमिनलाई हराभरा बनाएर ग्रिन सिटी बनाउन सकिन्छ । थोरै आम्दानीको लोभले धेरै कुरा गुमेको छ । स्थानीय सरकारका रूपमा पहिलोपटक निर्वाचित संस्था भएकाले यसले बसाउने जग र कोर्ने नक्साले दुरगामी प्रभाव पार्दछ । नराम्रो कुराकोे जग होइन र सकरात्मक कुराको जग बसाल्न तिर बेनीनगरपालिकाका जनप्रतिनिधिहरुको ध्यान जाओस । स्थानीय सरकार बलियो भयो भने मात्र हामीले परिकल्पना गरेको बेनी हुने छ । सडकमा देखिएको बेथितिलाई हटाउन नगरपालिकाले तत्काल कदम चाल्नुको विकल्प छैन । नवविकल्प साप्ताहिकको अंक ४५ मा प्रकाशित