ताजा समाचार:
Search

प्लाष्टिक टनेलमा गोलभेडा खेती गर्दा राम्रो आम्दानी (भिडियो सहित)

विकल्प न्यूज/बेनी
साउन २१ गते ।
प्लाष्टिक घर भित्र लगाएको गोलभेडा खेतीमा काम गर्दै मंगला गाउँपालिका ५ पिपलबोटकी उजेली सापकोटा । तस्विर ठाकुरप्रसाद आचार्य

मंगला गाउँपालिका ५ अर्मन पिपलबोटकी उजेली सापकोटालाई छिमेकीले प्लाष्टिक घरभित्र गोलभेडा खेती गरेको देखेर रहर जाग्यो । त्यस्तै २० वर्षीय अर्मन पोकका बुद्धी विकलाई पनि प्लाष्टिक घरभित्र गोलभेडा खेती गर्न इच्छा लाग्यो । उजेली र विक मात्र होइन मंगला गाउँपालिकामा प्लाष्टिक टनेल भित्र गोलभेडा खेती गर्ने किसानहरुको संख्यामा वृद्धि हुनथालेको छ ।
प्लाष्टिक टनेल भित्र गोलभेडा खेती गर्दा रोगकिराको प्रकोप कम,उत्पादनमा वृद्धि र बेमौसमी तरकारी उत्पादन गरि राम्रो आम्दानी गर्न सकिने भएकाले किसानहरु प्लाष्टिक घर भित्र खेती गर्न आकर्षीत भएका हुन ।

बाह्रै महिना तरकारी उत्पादन गर्न हावापानी तथा वातावरणीय तापक्रम, हावा र पानीको नियन्त्रण गरी अनुकूल बनाउन प्लाष्टिक घर एक मुख्य प्रविधिको रूपमा लिन सकिन्छ । प्लाष्टिकको घर भित्र बर्षा, चिसो हावा र तापक्रम नियन्त्रण हुँने हुँदा प्रतिकूल मौसममा पनि तरकारी खेती गर्न सकिने भएकाले किसानहरुको रोजाईमा प्लाष्टिक टनेल भित्र तरकारी खेती परेको हो ।
पीपलबोटकी उजेली सापकोटाले एकलाख पचास हजार रुपैयाँ खर्चिर प्लाष्टिकको घर निर्माण गर्नुभएको छ । प्लाष्टिक घर भित्र उहाँले सिर्जना जातका १२ सय विरुवा लगाउनुभएको छ । यतिखेर गोलभेडा पाकेर विक्रीका लागि तयार भएका छन् । प्लाष्टिक घरभित्र यतिखेर रहरलाग्दो तरिकाले गोलभेडा फलेका छन् ।

छिमेकीले गोलभेडा खती गरेको देखेर सुरु गरेको बताउने उजेलीले राम्रो भयो भने खेतीलाई विस्तार गर्ने योजना सुनाउनुभयो । पहिलो पटक लगाएको हौं उजेलीले भन्नुभयो ‘गोलभेडा खेतीका वारेमा अनुभव थिएन छिमेकीबाट सिकेर काम गरेका छौं । पहिलो पटक लगाएको गोलभेडा राम्रो भएकाले भविष्यमा विस्तार गर्ने योजना बनाएका छौं ।’

श्रीमान तुलसीराम सापकोटा शिक्षक पेशाबाट पेन्सनमा निस्कीनुभएको छ ।  श्रीमान श्रीमती मिलेर व्यवसायिक रुपमा गोलभेडा खेती गर्ने योजना भएको उहाँले सुनाउनुभयो । सातसय केजी गोलभेडा विक्री गरेको उहाँले बताउनुभयो । प्रतिकेजी ७० रुपैयाँ सम्म विक्री हुने गरेको उहाँले बताउनुभयो ।

गोलभेडा विक्री गरेर पहिलो पटक पैसा हातमा समाउँदा आफू दङ्ग परेको बताउँदै उजेलीले भन्नुभयो ‘आफ्नै माटोमा पसिनाको कमाई हातपर्दा खुसीको सिमा रहेन ।’

गाउँपालिकाबाट बजार व्यस्थापन,तालिम र मलविउमा अनुदान उपलब्ध गराएमा हौसला मिल्ने उजेलीले बताउनुभयो । मंगला गाउँपालिकाले कृषकलाई लक्षित गरेर गत आर्थिक वर्षमा पचास प्रतिशत अनुदानमा १० वटा प्लाष्टिक टनेल र कृषि औजार वितरण गरेको कृषि शाखाका कर्मचारी ताराप्रसाद बानियाँले बताउनुभयो । किसानलाई कृषिमा आकर्षीत गराई आत्मनिर्भर बनाउन गाउँपालिकाले प्राथमिकताका साथ बजेट बिनियोजन गरेको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रले टनेल खेतीको विस्तार गर्न गत आर्थिक वर्षमा नमुना फार्म विकास कार्यक्रम अन्तर्गत पाँचवटा फार्मलाई ११ लाख ९४ हजार ६ सय ८३ रुपैयाँ अनुदान वितरण गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख गोविन्दराज कोइरालाले बताउनुभयो । जिल्लाभर करिब दुईसय किसानहरुले व्यवसायिक रुपमा टनेलमा खेती गरेको कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो ।

टनेल भित्र बेमौसमी तरकार उत्पादन गर्न सकिने र राम्रो फाइदा हुनेभएकाले किसानहरुको आकर्षण वढेको उहाँको भनाई छ । पछिल्लो समय गाउँपालिका,कृषि ज्ञान केन्द्र र विभिन्न संघसंस्थाहरुले पनि किसानहरुलाई प्लाष्टिक टनेल वितरण गरेकाले किसानहरुलाई राहत मिलेको उहाँले बताउनुभयो ।