दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सुरु

विकल्प न्यूज/बेनी
साउन १७ गते ।    मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सुरु भएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको सहयोग र गाउँपालिकाको समन्वयमा उपकरण खरिद गरेर सेवा सुरु गरिएको हो । अल्ट्रासाउण्ड सेवा सुरु भएपछि गर्भको बच्चाको अवस्था, पित्तथैलि, मृगौला, मुत्रथैलीको पत्थरी, कलेजोको रोग पत्ता लगाउन सहज हुने केन्द्रका डाक्टर तिलक गौतमले बताउनुभयो ।

अल्ट्रासाउण्डका लागि सेवाग्राहीहरुलाई बेनी, पोखरा पुग्नुपर्ने बाध्यता हटेको केन्द्रका प्रमुख डाक्टर गणेश श्रेष्ठले बताउनुभयो । रोगको पहिचान गर्न सजिलो हुने र बिरामीले सहज तथा सर्वसुलभ रुपमा सेवा पाउने अपेक्षा गरिएको छ ।

यसअघि केन्द्रले अन्तरंग, आकस्मिक, ल्याब, एक्सरे, सुरक्षित प्रसुति, गर्भपतन लगायतका सेवा प्रवाह गर्दै आएको थियो । अल्ट्रासाउण्ड सेवा सुरु भएपछि मालिका, धवलागिरी र मंगला गाउँपालिकाका गर्भवतीहरुलाई सुबिधा पुगेको छ ।

अल्ट्रा साउण्डका साथै अक्सिजन कन्सटेटर, नवजात शिशूलाई न्यानो बनाउने उपकरण, आकस्मिक ट्रली समेत उपलब्ध गराइएको छ । केन्द्रबाट गत आर्थिक वर्षमा सोह् हजार जनाले सेवा लिएका थिए ।

स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय र सहज बनाउन विद्युतको बैकल्पिक व्यवस्था गर्न जेनेरेटर, सोलार, भिडियो एक्सरे र ल्याबका उपकरण आवश्यक देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।

अल्ट्रासाउण्ड सेवाको शुक्रबार सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गर्नुभएको हो । मन्त्री पुनले स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि दरबन्दी अनुसारका जनशक्ति, उपकरण र पूर्वाधारमा जोड दिएको बताउँदै मृगौला, मुटु र क्यान्स, बाल तथा महिला अस्पताल बनाउन जग्गाको खोजी भैरहेको जानकारी दिनुभयो ।आगामी पौष महिनाभित्र बेनी अस्पतालमा डायलाइसीस सेवा सुरु गर्ने तयारी भएको उहाँले बताउनुभयो । दुर्गम क्षेत्रमा प्रसुति सेवाका लागि अप्ठ्यारोमा परेका गर्भवतीहरुको आकस्मिक उद्दारका लागि हेलीकपटरबाट उद्धार गर्ने एयर लिफ्ट दिइने, रोग न्युनीकरणका लागि एकिकृत स्वास्थ्य अभियान सुरु गरेको बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले डाडागाउँको स्वास्थ्य इकाईलाई स्वास्थ्य चौकीमा स्तरोन्नति, सात वटै वडामा सुरक्षित प्रसुति सेवा विस्तार गर्न पहल गरिएको जानकारी दिदै स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुने गर्भवतिलाई निशूल्क एम्बुलेन्स सेवा र प्रोत्साहन भत्ता दिइने बताउनुभयो ।स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका वडा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षता, जनप्रिय माविका प्रअ दिवाकार सुवेदीको सञ्चालन, स्वास्थ्य केन्द्रका प्रमुख गणेश श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा मन्त्री पुनका निजी सचिव चन्द्रमणी सापकोटा, धवलागिरी गाउँपालिका १ का वडा अध्यक्ष झकबहादुर छन्त्याल, स्थानीय बिरबहादुर कार्की र महिला स्वास्थ्य स्वमसेविका हरिमाया बिकले मन्तब्य व्यक्त गर्नुभएको थियो ।