ताजा समाचार:
Search

रुमका पौरखी महिला (भिडियो रिपोर्ट)

विकल्प न्यूज/बेनी
साउन १४ गते । रुमका महिलाहरु अल्लो धागोबाट निर्मित कपडा देखाउँदै । 

मालिका गाउँपालिका २ रुमकी मनकुमारी पुनले अल्लोबाट कपडा बुन्न थालेको चारवर्ष भयो । मनकुमारी मात्र होइन रुम गाउँका अधिकांश महिलाहरु अल्लो धागोबाट कपडा बनाउँछन् ।

सरकारी निकाय र विभिन्न संघसंस्थाको सहयोगमा पछिल्लो समय रुमका महिलाहरु परम्परागत सीपलाई आधुनिक प्रविधिको प्रयोग गरेर कपडा बुन्न थालेपछि रुमका महिलाहरु स्वरोजगार हुनुका साथै राम्रो आम्दानीको स्रोत भएको छ ।
जंगलमा खेर गएको अल्लोलाई प्रशोधन गरेर कपडा बनाउन थालेपछि रुमका महिलाहरुको जिवनस्तरमा सकरात्मक परिवर्तन आएको छ । केही वर्ष पहिला घरखर्ची चलाउन पनि धौधौ हुने सपना विश्वकर्मालाई यतिखेर भने कुनै समस्या छैन । अल्लो धागोबाट निर्मित कपडा विक्री गरेर उहाँले दैनिक घरखर्ची चलाउनुहुन्छ । अल्लोको कपडाबाट स्टकोट सिलाउँदै महिला ।

जंगलमा खेर गएको अल्लोलाई प्रशोधन गरेर त्यसबाट निकालिएको धागोबाट कपडा बनाउन रुमका महिलाहरुले समुह गठन गरेका छन् । एकवर्ष अघि महिलाहरुले रुम अल्लो धागो उत्पादन समुह गठन गरेका छन् । ११ जना महिलाहरु समुहमा आवद्ध छन् ।

सामुहिक रुपमा काम गर्न सहज हुने भएकाले समुह गठन गरिएको अध्यक्ष मनकुमारी पुनले बताउनुभयो । अल्लो धागोबाट कपडा बनाउन थालेपछि गाउँका अन्य महिलाहरुले पनि कामको अवसर पाएको उहाँले बताउनुभयो । जंगलमा खेर गएको अल्लोलाई घरमा ल्याई प्रशोधन गर्ने महिलाहरुले काम पाएका छन् ।

समय समयमा तालिम पनि लिने गरेका छौं समुहकी अध्यक्ष पुनले भन्नुभयो ‘परम्परागत सीपलाई हामीले प्रविधिसँग जोडेर अल्लोबाट धागो उत्पादन गर्न थालेका छौं ।  घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा संगम म्याग्दीले महिला उद्यमीहरुको क्षमता विकासका लागि हालैमात्र २० दिने तालिम प्रदान गरेको संगम म्याग्दीकी उद्यम विकास सहजकर्ता उमा गुरुङले बताउनुभयो । २१ जना महिला उद्यमीहरुले तालिम लिएका थिए ।

तालिम पाएपछि महिलाहरुले स्टकोट,कोट,झोला लगायतका सामाग्रीहरु तयार पार्न सिकेका छन् । उच्च पहाडी क्षेत्रमा पाइने अल्लो पुवालाई प्रशोधन गरेर बनाइएको धागो र ढाकाबाट साडी, सल, कुर्था, गलबन्दी, रुमाल, पर्स, चोलो, टोपी बनाउन सकिने तालिमका प्रशिक्षक सन्तोष दर्नालले बताउनुभयो । उत्पादीत सामाग्रीको बजारीकरण गर्ने हो भने भविष्य राम्रो छ उहाँले भन्नुभयो । रोजगारी, पेसा र व्यवसायको सिलसिलामा विश्वका विभिन्न देश पुगेका म्याग्दीबासीले आफ्नो जन्मथलोको पहिचानका रुपमा अल्लो र ढाकाको कपडा खरिद गरेर लैजाने गरेको पुनले बताउनुभयो । घरायसी कामबाट बचेको समयमा अल्लो र ढाका बुन्ने गरिएको उद्यमी सपना विश्वकर्माले बताउनुभयो । एक मिटर ढाका र अल्लो कपडालाई ८ सय देखि ९ सय रुपियाँ सम्म विक्री हुने गरेको समुहकी अध्यक्ष पुनले बताउनुभयो । परिश्रम गरे अनुसारको मुल्य पाउन सकिएको छैन उहाँले भन्नुभयो । उत्पादीत कपडा पोखरा,काठमाण्डौंको ठमेल बजार र विदेशमा समेत पुग्ने गरेको उहाँले बताउनुभयो ।

अल्लोको कपडाबाट निर्मित कपडाहरु लगाउने बानी नपरेकाले पनि उत्पादित कपडा सहज विक्री हुननसकेको उहाँले गुनसो गर्नुभयो । घरेलु तथा साना उद्योग विकास समिति र विभिन्न संघसंस्थाको सहयोगमा सीपमूलक तालिम, औजार र प्रविधि सहयोग गरेका छन् । मालिका गाउँपालिकाले महिला उद्यमीहरुको सहजका लागि सादा सुविधा भवन निर्माण गरिदिएको मालिका गाउँपालिका उपाध्यक्ष खरमाया विटालुले बताउनुभयो ।

रुमका महिलाहरुको व्यवसायिक क्षमता अभिवृद्धिका लागि गाउँपालिकाले विभिन्न प्रविधिहरु सहयोग गर्नुका साथै तालिम दिने गरेको उहाँले बताउनुभयो । तस्विर ठाकुरप्रसाद आचार्य