मुदीको बगरा तातोपानीमा पूर्वाधार निर्माण

विकल्प न्यूज/बेनी
साउन १० गते ।  धौलागिरि गाउँपालिका ४ मुदीको बगर तातोपानीमा पूर्वाधार निर्माण गरिएको छ । राउन्ड धौलागिरि पदयात्रामा पर्ने तातोपानी कुण्डमा स्नान गर्न पुग्ने पर्यटकको सुविधाका लागि ठाँटी निर्माण गरिएको हो । आर्थिक वर्ष २०७५÷०७६ मा वडाको सिफारिसमा गाउँपालिकाद्धारा विनियोजित करिब साढे सातलाख रुपियाँमा तिनवटा कोठा भएको ठाँटी निर्माण गरिएको छ ।
स्थानीयवासीहरुको ७४ हजार तिनसय १७ रुपियाँ बरावरको श्रमदान सहित सात लाख ३९ हजार तिनसय १७ रुपियाँमा ठाँटी निर्माण गरिएको उपभोक्ता समितिका सचिव चित्रबहादुर घर्तीले जानकारी दिनुभयो । बगर गाउँदेखि तिनघण्टाको दुरीमा म्याग्दी नदीको किनारमा रहेको कुण्डमा पुग्ने पर्यटकहरुलाई ठाँटी बनेपछि सहज भएको स्थानीयवासी कृष्णबहादुर बुढाथोकीले बताउनुभयो । तातोपानी कुण्डमा स्नान गर्न पुग्ने पर्यटकहरुलाई बसोबासको सुविधा दिन वडाको सिफारिसमा गाउँपालिकाको बजेटबाट ठाँटी निर्माण गरिएको वडा अध्यक्ष बेगप्रसाद घर्तीले जानकारी दिनुभयो । तातोपानीमा पूर्वाधारको विकास गरी पर्यटन आकर्षण बढाउन गाउँपालिकाले लगानी गरेको पालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।
पर्यटकहरु थकान मेटाउन कुण्डामा स्नान गर्न आउनुका साथै विभिन्न रोगहरु निको हुने विश्वास लिएर मुदी,मुना,ताकम,मराङ लगायतका गाउँहरुबाट सर्वसाधरणहरु स्नान गर्न आउने समितिका सचिव घर्तीले बताउनुभयो । तस्विहरु ठाकुरप्रसाद आचार्य