मालिकाकाे रुमका गरिब परिवारलाई निशूल्क स्वास्थ्य बिमा सेवा

विकल्प न्युज
म्याग्दी , साउन ०२ गते ।

जिल्लाको मालिका गाउँपालिका–२ रुमका गरिब विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ । गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट एक सय २५ जना गरिब विपन्न जेष्ठ नागरिकको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो ।

नेपाल सरकारको गरिब नागरिकलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत ३ हजार ५सय रुपैयाँका दरले शूल्क तिरेर स्वास्थ्य बिमा गरेको निशुल्क स्वास्थ्य विमा दर्ता सहयोगी प्रविशा पुनले जानकारी दिनुभयो ।उहाँका अनुसार साविक रुम गाविसको खवाङ , विलबाङ ,धुलबाङ, रुम , जेम र बेलीका गरी ७० बर्ष उमेर पुगेका एक सय २५ जना जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य विमा गरिएको छ ।

प्रति व्यक्ती तीन हजार ५ सय रुपैयाँका दरले १ सय २५ जनालाई ४ लाख ३७ हजार ५ सय रुपैयाँ बराबरको निशुल्क स्वास्थ्य विमा गरिएको हो ।
बर्खा र बर्षातको समय भएकाले अझै केही परिवार निशुल्क स्वास्थ्य कार्यक्रममा छुटेको वडा अध्यक्ष नरबहादुर पुनले जानकारी दिनुभयो । स्वास्थ्य विमामा सहभागि नभएका गरिब विपन्न परिवारका सदस्यलाई छिट्टै स्वास्थ्य विमाको कार्ड वितरण गरिने अध्यक्ष पुनको भनाई छ ।

स्वास्थ्य विमा नलिएका कारण गरिब तथा विपन्न नागरिकले सामान्य उपचार सेवाको पहुँचबाट बञ्चित हुनुपरेको थियो । गाउँपालिका भित्र रहेका गरिब तथा विपन्न नागरिकहरुलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन नेपाल सरकारको कार्यक्रम अनुसार गाउँपालिकाले बजेट विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिनुभयो ।

उहाँले निशुल्क स्वास्थ्य विमाको सेवा नपाएका अन्य वडाका वास्तविक गरिब तथा विपन्न परिवार पहिचान गरि गाउँपालिकाले निशुल्क स्वास्थ्य विमा गरिदिने बताउनुभयो ।
निशुल्क स्वास्थ्य विमा गराएका उनिहरुले एक वर्ष सम्म सूचिकृत स्वास्थ्य संस्थाबाट एक लाख रुपैयाँ सम्मको औषधी उपचार सेवा प्राप्त गर्नेछन् । विपन्न समुदायको स्वास्थ्य उपचार सेवामा पहुँच बढाउन बिमा गरिएको हो । म्याग्दीमा दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र र साविक (जिल्ला अस्पताल) बेनी अस्पतालमा स्वास्थ्य बिमा गरेका नागरिकको उपचारका लागि प्रारम्भिक स्वास्थ्य संस्था तोकिएको छ ।