ताजा समाचार:
Search

पर्वतको पर्यटकीय फलामेडाँडामा सामुदायिक पाहुनाघर सञ्चालन

विकल्प न्युज
बेनी,साउन ०१ गते ।
करबाकेली पदमार्गअन्तर्गत पर्वतको जलजला गाउँपालिका ५ मा रहेको फलामेडाँडामा सामुदायिक पाहुनाघर सञ्चालन गरिएको छ ।
गाउँ भ्रमणमा आउने पाहुनाको खाने बस्ने सुविधाका लागि स्थानीय बासिन्दाले सामुदायिक पाहुनाघर बनाएका हुन् ।

समुद्री सतहदेखि ३ हजार ३ सय मिटरको उचाइमा अवस्थित फलामेडाँडा लगायत म्याग्दी र उत्तरी पर्वतका पर्यटकीयस्थललाई समेटेर गत वर्ष करबाकेली पदमार्ग सञ्चालनमा ल्याइएको थियो ।

                                                                         तस्वीर : म्याग्दी अनलाइन

पाहुनाघरमा एक दिनमा २० जनालाई खाने र बस्नेसुविधा उपलब्ध गराइने लोप्रेका पुर्ख पुनले जानकारी दिनुभयो । ८ कोठे पाहुना घर र सभाहलसहितको डाइनिङ हलका लागि दुईवटा भवन बनाइएको छ ।

प्रदेश सरकारको १० लाख र जलजला गाउँपालिकाको एक लाख रुपैयाँ अनुदानमा पाहुनाघरको भवन बनाइएको हो । स्थानीय तुलबहादुर पुनले श्रीमती बहुमती पुनको पुण्य स्मृतिमा १९ लाख रुपैयाँ खर्चेर डाइनिङ हल र बाह्य खोप केन्द्रका लागि अर्को भवन बनाइदिएका छन् ।
‘फलामेडाँडाको पर्यटन विकासका लागि पूर्वाधार निर्माणलाई तीव्रता दिएका छौं’, पुनले भन्नुभयो, ‘पाहुनाघर र डाइनिङ हल बनेपछि गाउँमा आउने पाहुनालाई खान बस्न समस्या नहुने साथै आम्दानीको स्रोत बढ्ने अपेक्षा गरेका छौं ।’

पहाडको टुप्पोमा समथर फाँट रहेको फलामेडाँडाबाट सूर्योदय, म्याग्दी, पर्वत र बागलुङका बस्ती, धौलागिरि, अन्नपूर्ण, गुर्जा, निलगिरि हिमाल र पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

डाइनिङ हल र खोप केन्द्रको भवन निर्माणका लागि तुलबहुरले १९ लाख २५ हजार, स्वास्थ्य कार्यालयले दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएका । स्थानीयवासीले दुई लाखबराबरको श्रमदान गरेका निर्माण समितिका चक्र पुनले बताए ।

फलामेडाँडामा प्रस्तावित भ्यूटावरसम्म जाने ३ सय ६० मिटर ढुंगे सिढीसहितको पदमार्ग बनेको छ । प्रदेश सरकारको ४ लाख ५० हजार, गाउँपालिकाको एक लाख २५ हजार अनुदान र समुदायको एक लाख १५ हजार चन्दा सहयोगमा पदमार्ग निर्माण भएको हो ।
पदमार्गको मध्य भागमा प्रेमबहादुर फगामीको स्मृतिमा उहाँका परिवारले विश्राम गर्ने चौतारी बनाएका छन् । धौलागिरि एफएम