धौलागिरि आधारशिविर जाने पदमार्ग निर्माण

विकल्प न्यूज/बेनी
साउन १ गते । धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण गरिएको छ । रघुगंगा गाउँपालिकाको ७ नम्बर वडा चिमखोलाको छरिबोट देखि घोप्टेओढार सम्म पदमार्ग निर्माण गरिएको हो । गण्डकी प्रदेशको उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयको १० लाख रुपियाँमा उक्त पदमार्ग निर्माण गरिएको हो ।

पहाडमा ढुंगाको सिँढीसहितको एक हजार पाँचसय मिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका  अध्यक्ष नरबहादुर  भण्डारीले जानकारी दिनुभयो । पदमार्ग निर्माण गर्न चिमखोलाका स्थानीयहरु जंगलमै बास बसेर पदमार्ग निर्माण गरेको उहाँले बताउनुभयो । रघुगंगा नदीले पदमार्ग कटन गरेका कारण पर्यटकलाई आवतजावतमा समस्या हुँदै आएको छ उहाँले भन्नुभयो ।

यसअघि सोसलधाराको कोशेभिरदेखि कालीबराहको दोभान र सोसलधारादेखि कोशेभिरसम्म दुई चरणमा पदमार्ग निर्माण गरिएको थियो ।

धौलागिरि आइसफल पदमार्ग निर्माणका लागि पछिल्ला तीन वर्षयता दश÷दश लाख बजेट उपलब्ध गराएको छ । सडकका कारण विस्थापित भएको बेनी–जोमसोम पदमार्गको विकल्पका रुपमा टे«किङ व्यवसायी एशोसिएशन अफ नेपाल ९टान०को पहलमा सात वर्षअघि पदमार्ग पहिचान भएको थियो । पदमार्गको अभाव र बसोवासका लागि पूर्वाधारको अभावका कारण पर्यटकले यसक्षेत्रमा सास्ती भोग्दै आएका छन् ।

ढुंगाको सिँढी चिरेर बनाइएको दुई मिटर फराकिलो पदमार्गमा खच्चरसमेत आवतजावत गर्न सकिने स्थानीय ध्रुवकुमार पाइजाले बताउनुभयो । चिमखोला देखि आधारशिविर सम्म पदमार्ग बनाउन सकेमा यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने उहाँले बताउनुभयो ।

त्यस्तै कालीबराहको दोभानबाट कालीबराह ताल हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरटो बाटोलाई स्तरोन्नति गरे पछि क्याम्पिङ गर्ने पर्यटक भ्रमणमा जान सक्ने छन ।

पदमार्ग, आवासका लागि पूर्वाधार, नक्सांकन र प्रचारप्रसार गरी सञ्चालनमा ल्याउन पहल गरिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीले बताउनुभयो । पदमार्ग र भौतिक पूर्वाधार निर्माणका लागि रुइसे भेडिओढार र चिमखोला क्षेत्र गरि थप २५ लाख विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।

सात दिनमा यात्रा गर्न सकिने पदमार्गमा रहेका अग्ला पहाडबाट हिमशृंखला धौलागिरि हिमाल निरन्तर खसिरहने हिमपहिरो, झरना, काली बराहताल, लालीगुराँसको जंगल, यार्सागुम्बालगायतका जडीबुटी, जंगली जनावर, चराचुरुङ्गीको विशेष आकर्षण रहेका छन ।