पुननिर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न जोड

विकल्प न्यूज/बेनी
असार ३० गते ।   जिल्लामा पुननिर्माण कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सरोकारवाला निकायहरुले जोड दिएका छन् । भूकम्प पछिको निजी आवास,पूर्वाधार र विद्यालय पुननिर्माण कार्यलाई प्रभावकारी रुपामा अगाडि बढाउन सरोकारवालाहरुले सुझाव दिएका हुन ।
राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वनय इकाई म्याग्दीले बेनीमा आयोजना गरेको चालु आर्थिक वर्ष २०७५/०७६ मा संचालित योजना तथा कार्यक्रमको समिक्षा कार्यक्रममा वोल्ने वक्ताहरुले नक्कली भूकम्पपीडितहरुका कारण पुननिर्माणलाई प्रभावकारी रुपमा सञ्चालन गर्न चुनौती थपिएको बताएका थिए ।

समिक्षा कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद विनोद केसीले जनप्रतिनिधि र कर्मचारीहरु पुननिर्माण कार्यमा जिम्मेवार भएर लाग्न अनुरोध गर्नुभयो । उहाँले पुन सर्वेक्षण गर्दा कुनै राजनीतिक पूर्वाग्रह नराखी वास्तवीक भुकम्प पीडितहरुलाई सिफारिस गर्न स्थानीय तहलाई अनुरोध गर्नुभयो । दक्ष जनशक्तिको अभावका कारण पनि जिल्ला आयोजना कार्यान्वयन इकाईले गुनासो नआउने तरिकाले कार्य गरेकोमा धन्यवाद पनि व्यक्त गर्नुभयो । सवै सरोकारवालाहरु जिम्मेवार भएर पुननिर्माणमा सहयोग गरे लक्ष्य भन्दा अगावै म्याग्दीमा पुननिर्माण कार्य सम्पन्न गर्न सकिने उहाँले आशा व्यक्त गर्नुभयो । कार्यक्रममा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले नक्कली भुकम्प पीडितहरुले बलजफ्ती गरेर सक्कली भुकम्प पीडित हुन खोजेकाले पुननिर्माणमा चुनौती थपिएको बताउनुभयो । उहाँले विभिन्न कारणहरुले गर्दा इच्छा नहुँदा नहुँदै पनि भुकम्पपीडित भनेर सिफारिस गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले पुननिर्माण कार्य पहिलो सिकाई भएकाले पनि कार्यन्वयनमा जाँदा समस्या आएको बताउँदै उहाँले समाधान तर्फ सवैको ध्यान पुग्नुपर्ने बताउनुभयो । एकिकृत वस्ती विकास र दिगो भू उपयोग नीति बनाएर अशुरक्षित वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तर गर्न स्थानीय तहले योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आयोजना कार्यन्वयन इकाईका प्रमुख शिवराम गेलालले कार्यालयबाट सम्पादन भएको गत साउन देखि असार सम्मको कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन आयोजना कार्यान्वयन इकाईका नायब सुव्बा चित्रनाथ शर्माको सञ्चालन र लेखाअधिकृत रामप्रसाद शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । समिक्षा कार्यक्रममा म्याग्दीका स्थानीय तहका प्रतिनिधि,कार्यालय प्रमुख,कर्मचारी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।