ताजा समाचार:
Search

बरंजामा सार्वजनिक सुनुवाई सम्पन्न

विकल्प न्यूज/बेनी
असार २९ गते ।  
मंगला गाउँपालिकाको बरंजामा शनिबार सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०७५÷७६ मा सञ्चालन गरेका योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाहको विषयमा स्थानीयबासीको सुझाव, गुनासा, अपेक्षा संकलन गर्ने उद्देश्यले सुनुवाईको आयोजना गरिएको हो ।

गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको सहजिकरणमा सम्पन्न कार्यक्रममा वडा न. ३ र ४ मा सञ्चालित योजना तथा कार्यक्रमको समिक्षा समेत भएको थियो ।

कार्यक्रममा सहभागिहरुले सडक निर्माणलाई ब्यस्थित बनाउनुपर्ने, विगतमा सुरुवात गरिएका योजनालाई निरन्तरता र पूर्णता दिनुपर्ने, दरबन्दि अनुसारका कर्मचारीको ब्यवस्थापन, योजना सञ्चालन सम्बन्धी नीतिगत ब्यवस्थाको बारेमा अभिमुखीकरण, सिचाई सुबिधा विस्तारमा प्राथमिकता दिन र कृषि तथा पशु सेवाका कार्यक्रमलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए ।गाउँपालिकाको अध्यक्ष सतप्रसाद रोकाले पालिकाका सबै सडकलाई सुरक्षित, नियमित सवारी चल्ने र दिगो बनाउन प्राथमिकता दिएको जानकारी दिदै हरित सडकको अवधारणा अघि सारिएको बताउनुभयो ।

दरबन्दि अनुसारका कर्मचारीको अभाव, छरिएको बस्ती र प्रतिकुल भुगोलको चुनौतिका बावजुत कृषि र पशुपालनलाई ब्यवसायिकरण, सेवा प्रवाहलाई सरलिकरण, आयआर्जन सुधार र सामाजिक शसक्तिकरणका योजनालाई जोड दिएको बताउनुभयो । उहाँले बजेट बिनियोजन भएका योजना तथा कार्यक्रमको कार्यान्वयमा समुदायको चासो, सक्रियता र सहयोग आवश्यक पर्ने बताउनुभयो ।

वडा न. ३ का अध्यक्ष कबिन्द्र रोका, ४ का अध्यक्ष ओमबहादुर रोका, पूर्वाधार शाखाका प्राबिधिक बिपिन आचार्य, कृषि शाखाका प्राबिधिक जगत बानियाँ र पशु सेवा शाखाका प्राबिधिक अनिता सापकोटाले वडा तथा शाखाको गतिबिधिका बारेमा जानकारी गराउनुका साथै सहभागीले राखेका विज्ञाशाको उत्तर दिनुभएको थियो ।

गाउँपालिकाले सञ्चालन गर्ने विकास योजना तथा कार्यक्रमलाई पारदर्शी, प्रभावकारी, जनसहभागिता मुलक बनाउन, सेवा प्रवाहमा देखिएका कमी कमजोरी सुधारका लागि गुनासा, सुझाव तथा अपेक्षा संकलन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।वडा नम्बर ४ का अध्यक्ष रोकाको अध्यक्षता, गाउँपालिका अध्यक्ष रोकाको प्रमुख आतित्यथामा भएको कार्यक्रममा म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीले स्वागत , सचिव अमित विश्वकर्मा र कोषाध्यक्ष ठाकुरप्रसाद आचार्यले सहजिकरण गर्नुभएको थियो ।