ताजा समाचार:
Search

धौलागिरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी

विकल्प न्यूज/बेनी
असार २४ गते । धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पदमार्ग र तटबन्ध निर्माण तथा सडक मर्मत गरिएको छ ।

कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना मार्फत मराङमा नदी कटान नियन्त्रणका लागि तटबन्ध, मुदीमा पदमार्ग निर्माण, मुना र ताकममा सडकमा ढुङ्गा बिछ्याएर सोयलीङ गरिएको उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो ।

पूर्वाधार विकाससँगै नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित आयोजनाबाट १२० जनालाई रोजगारी मिलेको छ । छोटो अवधिका लागि आर्थिक वर्षको अन्तमा कम तयारीका बाबजुद पनि कार्यक्रम प्रभावकारी बनेको उपाध्यक्ष छन्त्यालले बताउनुभयो ।
रोजगार संयोजन नभएको र कार्यक्रम ढिला आएकाले समस्या भएपनि कार्यक्रम सुरु भएपछि सहभागीहरुले उत्साह र सक्रियता देखाएका उहाँको भनाई छ ।

धारापानीका किरन थापाले कार्यक्रम मार्फत युवाहरु विकासको काममा खटिएको बताउनुभयो । अप्ठ्यारो सडकमा ढुङ्गा बिछ्याएपछि सवारी आवत जावतमा सहज भएको उहाँको भनाई छ ।

मुना, मुदी, मराङ र ताकममा ३०÷३० जनालाई परिचालन गरिएको गाउँपालिकाको रोजगार संयोजक सुवास थापाले जानकारी दिनुभयो ।

उनिहरु पन्ध्र दिनसम्म काममा खटिनेछन् । दैनिक ७५० रुपैयाँका दरले ज्याला उपलब्ध गराउने व्यवस्था छ । गाउँकार्यपालिकाको बैठकले छनौट गरेका योजनामा मजदुरको रुपमा परिचालन गरिएको हो ।

वडा कार्यालय मार्फत बेरोजगार फारम भरेका मध्य घरमा अरुको रोजगार नभएका र विपन्नलाई प्राथमिकता दिएर काममा परिचालन गरिएको छ ।

धवलागिरीमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि २६ लाख रुपैयाँ बजेट आएकोमा तीस प्रतिशत मजदुरका लागि आवश्यक औजार, पोशाक र निर्माण सामग्री खरिद तथा सत्तरी प्रतिशत ज्यालाको रुपमा परिचालन गरिने व्यवस्था छ ।

धवलागिरी गाउँपालिकामा पाँच सय जनाले बेरोजगार फारम भरेका थिए । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खटाएका रोजगार संयोजक नआएकाले धवलागिरीमा कार्यक्रम सञ्चालन गर्न ढिलाई भएको हो । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले सूचना प्रबिधि अधिकृत थापालाई संयोजक तोकेको छ ।